Published On:Saturday, November 1, 2014
Posted by dadad
सहायक विषयमा भने प्रक्रियामा जान सकिन्छः सापकोटा
१५ कार्तिक, धादिङ । एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले मुख्य विवादित विषय बाहेक अन्य सहायक विषयहरुमा भने प्रक्रियामा गएर समाधान खोज्न सकिने बताएका छन् । संविधानका मुख्य विवादित विषय राज्यको पुनरर्संरचना, शासकीय स्वरुप, संघियता जस्ता विषयमा भने प्रक्रियामा जान नहुने र सहमतिको विकल्प नरहेको उनले बताए ।
मुख्य विवादित विषयमा प्रक्रियामा गए जनताको मुद्धा ओझेलमा पर्ने र बहुमतको नाममा पेल्ने प्रवृत्ती हाबी हुने भन्दै उनले सहमतिमै ती विषयहरुको टुङ्गो लगाउनुपर्ने बताए । क्रान्तिकारी पत्रकार संघ धादिङले शनिबार धादिङवेशीमा गरेको पत्रकार सम्मेलनमा नेता सापकोटाले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको पछिल्लो अभिव्यक्तिमा संघियता विरोधी आभाष भएको टिप्पणी गरे ।
आफुहरुले पहिलो संविधानसभामा प्रक्रियाकै कुरा गर्दा काँग्रेस र एमालेले नमानेका कारण दोस्रो संविधानसभा बिउझाउनुपरेको स्मरण गर्दै उनले अहिले फेरी उनीहरुले सहमति विरोधी अभिव्यक्ति दिनु जायज नभएको बताए ।
आफ्नो पार्टी १४ बाट लचक हुँदै १० प्रदेशमा झरेपनि सत्तारुढ दलहरु सहमतिमा गम्भिर नभएको उनको आरोप छ ।
काँग्रेस÷एमालेको पछिल्लो व्यवहारले विगतमा भएका उपलब्धि समेत गुम्ने खतरा रहेको भन्दै उनले सहमति बेगर संविधान जारी भए त्यो आफुहरुले नमान्ने चेतावनी दिए ।