Published On:Friday, November 21, 2014
Posted by dadad

प्रधानमन्त्रीबाट शिखर सम्मेलन स्थल निरीक्षण

५ मङ्सिर, काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन हुने स्थल राष्ट्रिय सभागृहको आज निरीक्षण गर्नुभएको छ ।

यही मङ्सिर १० र ११ गते सो स्थानमा शिखर सम्मेलन हुँदैछ । प्रधानमन्त्री कोइरालाले राष्ट्र प्रमुख तथा सरकार प्रमुख रहने मञ्च, आराम कक्ष, शौचालय ,सभाहलको कुर्सी, माइक, आगन्तुक तथा सञ्चारकर्मी व्यवस्थापन र सरसफाइलगायत कक्षको निरीक्षण गर्नुभयो ।

प्रधानमन्त्री कोइरालालाई सभागृहको मर्मत तथा सम्भारको जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयका निमित्त सचिव सुरेशप्रकाश आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलगायत अधिकारीले तयारीबारे अवगत गराउनुभएको थियो । प्रधानमन्त्री कोइरालाले पोडियममा आफँै उभिएर ध्वनि परीक्षण गर्नुका साथै सम्मेलनमा प्रस्तुत गरिने सङ्गीत (धून) श्रवण गर्नुभएको थियो ।

निमित्त सचिव आचार्यले तयारी कार्यप्रति प्रधानमन्त्री सन्तुष्ट हुनुभएको राससलाई बताउनुभयो । आचार्यले भन्नुभयो, “अब सरसफाइमात्र बाँकी छ । त्यो पनि बिहीबार नै सकिएको हो तर अनुगमन र निरीक्षण हुँदा सुरक्षाकर्मीलगायतले जुत्ता नखोली भित्र जानेक्रम भएकाले कार्पेटमा पुनः फोहोर हुने गरेको छ ।”

आचार्यले तयारी अन्तिम चरणमा पुगेको र केही प्राविधिक मिलाउन (एडजस्टमेन्ट) तथा पूर्वाभ्यास (रिहर्सल) बाँकी रहेको जानकारी दिनुभयो । उहाँले बाहिर चर्चा गरिए जस्तो हलको कुर्सी साँघुरो छ भन्नेमा वास्तविकता नभएको उल्लेख गर्दै आफूहरूले सकेसम्म तयारीमा कुनै कमजोरी नगरिएको बताउनुभयो ।

यस्तै नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारणका लागि प्राविधिक तयारी गरिरहेका छन् ।  सभागृहमा आजै सहरी विकास मन्त्री डा नारायण खड्काले पनि निरीक्षण गर्नुभयो ।सो स्थलमा सार्कका सदस्य मुलुकका सुरक्षा र कुटनीतिक अधिकारीले स्थलगत अवलोकनको कार्य जारी राखेका छन् ।

आजै श्रीलङ्कका उच्च सुरक्षा अधिकारीले सो स्थलमा अवलोकन गरेका थिए । सो स्थलको सुरक्षा व्यवस्था कडा गरिएको छ । रासस

0 comments for " प्रधानमन्त्रीबाट शिखर सम्मेलन स्थल निरीक्षण "

Leave a reply

    Popular Posts

    Blog Archive