Published On:Sunday, November 23, 2014
Posted by dadad

सार्कको सुरक्षा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा

७ मङ्सिर, काठमाडौं । यही मङ्सिर १० र ११ गते हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को अठारौँ शिखर सम्मेलनका लागि आवश्यक सुरक्षा व्यवस्थापनकोे सम्पूर्ण तयारी पूरा भएको छ ।

गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालले विशिष्ट अतिथि आउने विमानस्थलदेखि उहाँहरु बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार भइसकेको र त्यसका लागि २८ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

उनले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्ययोजना बनाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रुपमा परिचालन गरिएको बताए ।


गृह मन्त्रालयको प्रवक्ता समेत रहेका ढकालले सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिसकिएको बताए ।

सार्कको सुरक्षा तयारीको क्रममा दुई महिनाअघि देखि नै सीमानाकामा विशेष निगरानी र कडाइ सुरु गरिएको छ । त्यस्तै उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ ।

संवेदनशिल क्षेत्र र भिडभाड हुने स्थानहरुमा प्रहरी तैनाथ गरिनुका साथै गोप्य रुपमा सूचना लिने कार्य भईरहेको छ । सार्कमा खटिने सुरक्षाकर्मीहरुलाई विशेष तालिम दिईसकिएको छ ।

गृहमन्त्री वामदेव गौतमकै संयोजकत्वमा सुरक्षा, परिवहन र यातायात समिति गठन गरिएको र सो अन्तर्गत विभिन्न उपसमिति पनि गठन गरिएको छ । ढकालकै नेतृत्वमा सबै सुरक्षा निकायका अधिकारी रहने गरी एकीकृत सुरक्षा कार्ययोजना लागू गरिएको छ ।

यातायात व्यवस्थापनका लागि मङ्सिर ८ गतेदेखि १२ गतेसम्म उपत्यकामा सवारीसाधन सञ्चालनमा जोरबिजोर नम्बर प्रणाली लागू गरिएको छ । जसअनुसार मङ्सिर ८, १० र १२ गते जोर नम्बर प्लेट र मङ्सिर ९ र ११ गते बिजोर नम्बर प्लेटका सवारी साधनमात्रै गुड्न पाउनेछन् ।

अस्पताल, एम्बुलेन्स, दमकल, शववाहनजस्ता आकस्मिक सेवाका सवारीसाधन, सञ्चारमाध्यमका सवारीसाधन, विवाहका सवारीसाधन र हरियो नम्बर प्लेटका पर्यटक सवारीसाधनमा भने जोरविजोर प्रणाली लागू हुने छैन ।

अत्यावश्यक सेवाका सवारीसाधन ९ग्यास, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थ आदि० उपत्यकाबाट बाहिरका लागि चल्ने सवारीसाधन, रात्रि बस र दिवा सेवाका यात्रुबाहक सवारीसाधनलाई सीमित मात्रामा जोरबिजोर प्रणाली लागू गरिनेछ ।

पाहुनाको सवारी व्यवस्थापनको कारण सर्वसाधारणलाई केही असहज भए पनि देशकै प्रतिष्ठाका रुपमा रहेको सार्क सम्मेलन सफल पार्न सर्वसाधारणले आफ्नो योगदानका रुपमा त्यसलाई लिनुपर्ने प्रवक्ता ढकालको भनाइ छ ।

विशिष्ट पाहुनाको सवारी चलाउन पूर्वअभ्यास भोलि
सार्कमा आउने विशिष्ट पाहुनलाई विमानस्थलमा स्वागत तथा उहाँहरुका सवारीसाधन सञ्चालनसम्बन्धी पूर्वअभ्यास भोलि गरिने भएको छ ।

विशिष्ट अतिथिहरुलाई त्रिभुवन विमानस्थलमा स्वागतदेखि उहाँहरुको गाडीको स्कर्टिङ, उहाँहरुलाई होटलमा स्वागत तथा कार्यक्रमस्थलमा स्वागतसम्मको पूर्वअभ्यास गरिने प्रवक्ता ढकालले जानकारी दिए ।


सार्कका राष्ट्रप्रमुख र सरकारप्रमुखको कार्यक्रमस्थल सभागृहमा स्वागतको पूर्वअभ्यासमा भोलि प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट पाहुनलाई स्वागत तथा स्कर्टिङको पूर्वअभ्यासमा उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी हुनुहुनेछ । रासस

0 comments for "सार्कको सुरक्षा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा"

Leave a reply

    Popular Posts

    Blog Archive