Published On:Saturday, November 22, 2014
Posted by dadad

दलहरुले चाहेमा दुई घण्टामा विवाद सुल्झन्छः नेम्वाङ

६ मङ्सिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुले चाहेमा दुई घन्टामा विवाद सुल्झाएर माघ ८ भित्र नै संविधान जारी गर्न सकिने बताएका छन् ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङले ४÷५ दिनदेखि दलहरुबीचको विवाद चुलिएको बताउँदै उनीहरुलाई सहमतिमा ल्याउने हो भने तोकिएको समयमै संविधान बन्ने उल्लेख गरे ।

केही विषयमा मात्रै सहमति हुन बाँकी रहेकाले दलहरुले सार्क सम्मेलन अगावै अर्थात् यही मङ्सिर १० गतेभित्र संविधानको विषयलाई टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।

सभासद्हरु बालकृष्ण खाँड, ओमदेवी मल्ल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, सहकारी विभागका रजिस्टार विष्णुहरि पौडेल र राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले अहिले मुलुकले शान्ति, संविधान र समृद्धि खोजिरहेको र समृद्धिको काम सहकारीले गरिरहेको बताउँदै सहकारीले दूरगामी दृष्टि राखेर आफ्नो योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले तीन करोड ३३ लाख ८० हजार राजस्व बुझाएको जानकारी दिए ।


आर्थिक वर्ष २०७०/७१ मा संस्थाले रु सात करोड ११ लाख ३७ हजार मुनाफा आर्जन गरेको थियो । आव २०६९/७० मा कुल कारोबार रु दुई अर्ब ५७ करोड १२ लाख रहेकोमा चालु आवमा वृद्धि भई कुल कारोबार रु तीन अर्ब ३३ करोड ६८ लाख रहेको थियो ।

सेयर पुँजीतर्फ आव २०६९/७० को कुल सेयर पुँजी रु २४ करोड ७७ हजार ४०० रहेकोमा आव २०७०/७१ मा वृद्धि भई २५ करोड ६५ लाख ५३ हजार ४०० रहेको थियो । 

संस्थाका ललितपुर, काठमाडौँ र भक्तपुरमा तीन शाखा रहेका छन् । बाह्र हजार ८४१ सेयर सदस्य रहेको सो संस्थाको मुख्य लगानीमा लालीगुराँस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र सिन्धुपाल्चोक जिल्लाको लार्चा गाविस तातोपानीमा सञ्चालित भैरवकुण्ड हाइड्रोपावर प्रालि सञ्चालित छ । रासस

0 comments for "दलहरुले चाहेमा दुई घण्टामा विवाद सुल्झन्छः नेम्वाङ"

Leave a reply

    Popular Posts

    Blog Archive