Published On:Wednesday, November 26, 2014
Posted by dadad

नेपालमा संसदवादीबाट राजनैतिक बेइमानी र धोका भयो

नेत्रविक्रम चन्द ‘विप्लव‘, सचिव, नेकपा-माओवादी
अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नुभएको छ ? 
नेपाली राजनीति यतिबेला क्रान्ति र प्रतिक्रान्तिमा केन्द्रीत भइरहेको छ । परिस्थिति दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । 

शान्तिकालको प्रारम्भमा सहकार्यमा आएको एउटा संसदवादी पुँजीवादी शक्ति दलाल पुँजीवादी शक्तिमा नाङ्गोरुपले पतन हुँदै राज्यमा प्रतिक्रान्ति गर्नेतर्फ गईरहेको छ ।

अर्को, नेपाली जनता र माओवादी पार्टी शान्तिकालमा आउँदा भएका सहमति र अग्रगामि राजनैतिक निकास अर्थात् जनयुद्धकालका जनताका मागहरुलाई पूरा गर्दै राज्यलाई नयाँ बनाउँदै जनताको संविधान दिनुपर्दछ भन्ने पक्षमा खडा भएका छन् । यी दुई प्रवृत्ति बीचको संघर्षमा देश तानिँदै गएको छ ।

यहाँनेर ध्यान दिनुपर्ने मामिला यो छ कि जतिसुकै षड्यन्त्रका बावजुद क्रान्तिमाथि प्रतिक्रान्ति हावी हुने संभावना देखिँदैन । भविष्य क्रान्तिको नै उज्यालो छ ।



माघ ८ मा संविधान जारी गर्ने कुरा संविधानसभा भित्रका दलहरुले उठाइरहेकाछन्, तपाईहरुले संविधानसभाको चुनाव बहिस्कार गर्नुभयो सविधान जारी हुने स्थितीमा तपाईहरु के गर्नुहुन्छ ?
केही दल र दलका मान्छेहरुले माघ ८ मा संविधान बन्ने अझ माओवादीबिना पनि बन्ने प्रचार गर्दै हिँडेका छन् । तर ति मान्छेहरु भित्तामा टाउको ठोकिएपछि बुद्धि आउने खालका मान्छे हुन् जस्तो लाग्छ । उनीहरुलाई के कुरा थाहा होला भने संविधानसभाको माग गर्ने अनि पछिल्लो समयमा राष्ट्रिय राजनैतिकसभाको माग गर्ने माओवादी पार्टी र श्रमिक जनता संविधानसभा भन्दा बाहिरै छन् ।



माओवादी जो शान्ति प्रकृयाको मुख्य हिस्सेदार शक्ति हो, त्यसको असहभागितामा संविधान बन्ला या बने पनि समस्या हल होला भनेर विश्वास गर्ने को छ ? 

म त माओवादीबिनाको राज्य, माओवादीबिनाको संविधान अकल्पनीय कुरा हो भन्ने ठान्छु । कथम् बनाई हालेछन् भने पनि त्यसको औचित्य रहनेछैन ।

यसो भन्दाभन्दै पनि संविधान कसैबाट फुक्न लगाइन सक्छ, तर सबैले हेक्का राखे हुन्छ त्यो चाल कदापि सफल हुने छैन । हामी संसदीय संविधान र संसदीय व्यवस्थाको विरुद्ध प्रतिरोध संघर्ष अगाडि बढाउने छौं  ।
एकीकृत माओवादी र नेकपा—माओवादीबीच पार्टी एकताको चर्चा चलिरहेको छ, वास्तविकता के हो ?
वास्तवमा क्रान्तिकारीहरुबीचको एकता निकै महत्वपूर्ण र आवश्यक कुरा हो । अपसोच् एमाओवादी र हाम्राबीचमा केही निकै फरक राजनीतिक नीति र कार्यक्रमहरु छन् ।

जस्तो कि उहाँहरु राजनैतिक क्रान्ति पूरा भइसक्यो अब आर्थिक क्रान्ति मात्र बाँकी छ भन्नुहुन्छ । हामी नेपालमा राजनैतिक सत्तानै परिवर्तन भएको छैन, पहिले जनताको राज्य निमार्ण गर्नुपर्दछ भन्छौं ।



उहाँहरु सत्ता परिवर्तनको संघर्षलाई सहायक वनाउनु हुन्छ ,हामीले राजनैतिक सत्ता परिवर्तन गर्ने संघर्ष नै मुख्य हो भन्छौ । उहाँहरु एकथान संविधान बनाउनेतिर हुनुहुन्छ, हामी त्यो तरिकाले हुँदैन जनताको संविधान नबन्ने भएपछि अर्को अधिकारसम्पन्न राजनैतिक सभा निर्माण गरौं भन्छौं । उहाँहरु गाईभैसी पाल्ने संघर्ष मुख्य हो भन्नु हुन्छ, हामी जनताको सेवा गर्ने गरी कार्यकर्ता परिचालित हुनु पर्दछ भन्छौं ।



उहाँहरु राष्ट्रिय स्वाधिनतालाई सहायक बनाउनुहुन्छ, हामी मुख्य समस्या मध्ये हो भन्छौं । यी यस्ता अन्तरहरु हुन्, जसको अन्त्य नभए या यी कुराहरु एकरुपतामा नआई एकता संभव छैन ।



यसलाई हामीले गन्तव्य सहितको एकता भनेका छौं । गन्तव्य सहितको एकता मात्र वास्तविक एकता र सफतासम्म पुगाउने एकता हुन्छ । गन्तव्यबिनाको एकता चोकको जमघट जस्तो हुन्छ । बाटो आफनै, उद्देश्य आफ्नै चोक भएकोले मान्छेको भिड देखिने मात्र । यस्तो एकता गर्नुहुँदैन । वास्तविक एकता मात्र गर्नुपर्दछ ।



यसको मतलव सधैंलाई एकता सम्भव छैन या गर्नुहुँदैन भन्ने चाहिँ होइन । हाम्रो विचारमा माओवादीहरुको बीचमा एकता हुन्छ । तर नयाँ प्रक्रियामा त्यो पूरा हुने देखिन्छ ।

नेकपा—माओवादीभित्रको अन्तरविरोध विभाजनको तहसम्म पुगेको प्रचारमा आएको छ त्यसको सत्यता के हो ? 
हाम्रो पार्टीमा क्रान्तिको कार्यदिशाको बहस भइरहेको साँचो कुरा हो । त्यो सामान्य होइन निकै गंभीर र गहनखालको भएको पनि सत्य हो । यसको उद्देश्य एक मात्र छ, त्यो हो नेपालमा जुनखालको राजनैतिक बेइमानी र धोका संसदवादी दलहरुबाट भयो साथै जबरजस्ती पुरानो राज्यसत्तालाई जनतामाथि लाद्ने खेल चल्दैछ, त्यसलाई परास्त गर्ने र जनताको राज्य सत्ता निर्माण गर्ने ।



यसका लागि पहिले त पार्टीलाई सही राजनैतिक कार्यदिशा या क्रान्तिकारी कार्यदिशा चाहियो । क्रान्ति सम्पन्न गर्नका लागि यो अनिवार्यरुपले पूरा गर्नुपर्ने आधार हो । हामी त्यसैको लागि यो बहस गरिरहेका छौं । यो कुनै पार्टी फुट र एकताको कुरा नै होइन । अझ यो संगठनात्मक कुरा त हुँदै होइन । यो त निकै नै गम्भीर राजनैतिक लाइनको कुरा हो ।



यहाँ एकदमै गलत कुरा छ कि पार्टीमा सही विचार, नीति, कार्यक्रमको बहस हुँदासाथ फुट र एकताको प्रचार सुरु भइहाल्छ । अझ त्यसमा पनि फुटकै बढी प्रचार गरिन्छ । यसको पछाडि प्रतिक्रियावादीहरुको जनतालाई गलत सन्देश दिने र निरास बनाउने जाल अनि अवसरवादीहरुको बहसलाई मुख्य मर्मबाट विषयान्तरण गर्ने, भ्रम फैलाउने, आफनो अवसरवादी अनुहार लुकाउने र अवसरवादी राजनीति लाद्ने नियत दोषी देखिन्छन् । अर्थात् यस्तो प्रचार क्रान्तिकारीलाई कमजोर बनाउने र जनतालाई निरास बनाउने जाल हो । यसमा कोही पनि भ्रममा पर्नुहुँदैन । जब कि माओले नै भन्नु भएको छ कि ‘राजनैतिक कार्यदिशाले नै सबै कुराको फैसला गर्दछ ।’

पार्टीमा भइरहेको बहसलाई कसरी सुल्झाउने भन्नेबारेमा अध्यक्ष कमरेड किरणसँग गम्भिर छलफल चलिरहेको छ । हामीले भनेका छौं, मिल्छ एकमतका साथ क्रान्तिकारी कार्यदिशा निमार्ण गरेर जाउँ । मिल्दैन, छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने बनाऔं । आशा छ, हामी एउटा सार्थक निस्कर्षमा पुग्नेछौं ।

साथै हामीलाई पूर्णरुपले के विश्वास छ भने नेपाली क्रान्तिमा आइलागेको कठिन राजनैतिक मोडलाई सुल्झाएर अगाडि बढ्नेछौं ।  जब कि माओले भनेको या हामीले मानेको सच्चाइ त एकताको मुख्य आधार भनेको राजनैतिक विचार कार्यदिशा हो । यदि सही कार्यदिशा छ र बनाइन्छ भने एकता हुँदै जान्छ । गलत बन्न गयो भने फुट र पराजय हुँदै जान्छ ।

 स्रोत: लाल मजदुर डटकम

0 comments for "नेपालमा संसदवादीबाट राजनैतिक बेइमानी र धोका भयो"

Leave a reply

    Popular Posts

    Blog Archive