Published On:Saturday, November 29, 2014
Posted by Tekman Shakya
२ वटा उद्योग बाणिज्य संघ आवश्यक छैनः महासंघ
धादिङ । नेपाल उद्योग वाणिज्य महासंघले धादिङमा २ वटा उद्योग वाणिज्य संघको आवश्यकता नरहेको भन्दै सहकार्य गरेर एउटै बनाउन आग्रह गरेको छ ।
महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाले एउटा मात्रै उद्योग बाणिज्य संघ बनाएर अघि बढेमा समस्या धेरै नहुने बताईन् ।
धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा शनिबार उनले नेपाल उद्योग वाणिज्य संघको आधिकारीक संस्था धादिङ उद्योग वाणिज्य संघ नै रहेको दावी गरिन् ।
आफूहरुबाट हुने सबै आधिकारीक काम धादिङ उद्योग वाणिज्य संघबाट मात्रै हुने भन्दै उनले बताईन् । धादिङको २ वटै उद्योग वाणिज्य संघलाई एकै ठाउँमा मिलाउने अभ्यास गरिरहेको भन्दै महासंघका केन्द्रीय सदस्य राणाले व्यवसायीक एकजुट हुन आब्ह्वान गरिन् ।
साधारणसभामा मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले स्थानीय स्तरबाटै लगानीको वातावरण सृजना गर्नुपर्ने बताए । जिल्लालाई लगानीमैत्री बनाउन स्थानीय व्यवसायीहरुले नै भूमीका खेल्नुपर्ने भन्दै उनले लगानीका हिसावले धादिङ सम्भावना बोकेको जिल्ला भएको दावी गरे ।
साधारणसभामा सभासद् दिलमान पाख्रिन, रविन्द्रप्रताप शाह, एकीकृत माओवादी केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल लगायत क्रियाशील राजनीतिक पार्टीका प्रमुख एवम् प्रतिनिधिहरु सहभागि थिए ।
साधारणसभामा धादिङ उद्योग वाणिज्य संघका महासचिव बोदनाथ दुवाडीले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेशभाई अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।