Published On:Wednesday, November 26, 2014
Posted by dadad

नयाँ श्रम गन्तव्य खोज्ने समितिको संयोजकमा डा. गुरुङ

१० मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपलगायतका विकसित मुलुकमा नयाँ श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पाएको छ ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयको बैठकले डा. गणेशमान गुरुङलाई वैदेशिक रोजगारविज्ञका रुपमा समितिको संयोजक बनाउने निर्णय गरेको हो ।

समितिले वैदेशिक रोजगारीलाई बढी सुरक्षित बनाउने र हालको ज्यालादरमा वृद्धि गर्न सीपमूलक नेपाली कामदारका लागि युरोपलगायत विकसित गन्तव्य मुलुक खोज्ने काम गर्ने बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।

उनले भने-‘समितिले नयाँ नयाँ विदेशी श्रम बजारको खोजी गर्ने, हाल कायम विदेशी श्रम बजारलाई थप सुरक्षित बनाउनुका साथै विद्यार्थी प्रवेशाज्ञामा विदेश जाने तर अदक्ष कामदारको रुपमा काम गर्ने अवस्थाको सम्बोधन गरी सीपअनुसारको काम गराउने सम्बन्धमा अध्ययन र अनुसन्धान गरी बोर्डसमक्ष सिफारिस गर्नेछ ।”

समितिका सदस्यहरुमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष, नेपाल ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायी महिला सदस्य एकजना, कानुन व्यवसायी एकजना रहनेछन् भने बोर्डका कार्यकारी निर्देशक सदस्य सचिवको रुपमा रहने छ । रासस

0 comments for "नयाँ श्रम गन्तव्य खोज्ने समितिको संयोजकमा डा. गुरुङ"

Leave a reply

    Popular Posts

    Blog Archive