Published On:Friday, March 13, 2015
Posted by Tekman Shakya

संविधान निर्माणमा एमाले–एकीकृत माओवादीको साझा मत

२९ फागुन, काठमाडौं । नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताबीच सकेसम्म छिट्टै संविधान जारी गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

एमालेका अध्यक्ष केपी ओली निवास बालकोटमा शुक्रबार भएको दुई दलका शीर्ष नेताको छलफलमा सकेसम्म सहमतिका आधारमा संविधान ल्याउन पहल गर्नेमा पनि समान मत देखिएको छ । 

नयाँ संविधानमा सङ्घीयताको सङ्ख्या र नामकरणबारेमा भने दुई दलबीचको मतभेद कायमै देखिएको छ ।
छलफलमा एमालेले छ प्रदेश र एकीकृत माओवादीले नौ प्रदेशको प्रस्ताव गरी त्यसको औचित्यबारे धारणा राख्ने काम भएको एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले जानकारी दिए ।

एकीकृत माओवादी महासचिव कृष्णबहादुर महराले सहमतिमा चाँडो संविधान ल्याउनुपर्छ भन्नेमा सैद्धान्तिक छलफल भएको जानकारी दिए । सङ्घीयताजस्ता गहन विषयमा कोठामा बसेर छलफल वा सहमति गर्नुभन्दा जनताले के भन्छन् भन्नेतर्फ ध्यान दिनुपर्ने, मुलुकको राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा खलल आउन नदिने गरी निर्णयमा पुग्नुपर्नेमा जोड दिइएको बताए ।

नेपाली काँग्रेससहित चार प्रमुख शक्तिको शनिबार हुने औपचारिक वार्ताका लागि दुई दलबीच छलफल भएको हो । यसअघि बिहीबार काँग्रेस–एमाले तथा काँग्रेस–एमाओवादीका नेताबीच अलगअलग वार्ता भएको थियो ।

0 comments for "संविधान निर्माणमा एमाले–एकीकृत माओवादीको साझा मत"

Leave a reply

    Popular Posts

    Blog Archive