Published On:Saturday, March 21, 2015
Posted by my storry
‘बजेट विनियोजन गर्न नसकेकाले सबल खम्बा हुन सकेन’
काठमाडौं, चैत्र ७ ।
सभासद् ओमदेवी मल्लले सहकारीको विकासका लागि राज्यले बजेट विनियोजनमा कन्जुस्याई गरेको बताउनुभएको छ ।
सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा सहकारी डबलीको १२ औं श्रंखलामा भएको ‘संघको नेतृत्वमा महिलाहरुको चुनौती र अवसर’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारीमा ० दशमल २३ प्रतिशत पनि बजेट विनियोजन गर्न नसकेकाले सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन नसकेको बताउनुभयो ।
सहकारीका संघहरुमा महिला ४० प्रतिशत नेतृत्वतहमा लैजाने प्रावधान भएपनि कार्यान्वयन हुन नसकेको दुःख व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी नीति महिलामैत्री भएपनि कार्यान्वयनमा चुनौती भएकाले महिला नेतृत्वमा आउन अझै केही समय लाग्ने बताउनुभयो । महिला नेतृत्व गर्न सक्षम भएपनि सेल्फ कन्डिडेन्ट विकास हुन नसकेकाले सहकारीका संघमा महिला थोरै मात्र नेतृत्वतहमा पुगेको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई तिमिल्सिनाले महिला आर्थिक क्षेत्रमा संवेदनशील हुने भएकाले नेतृत्वतहमा पनि महिला आउन जरुरी रहेको बताउनुभयो । उहाँले बैंकमा महिला कोटा स्थापना गर्नका लागि पहल गर्ने समेत बनाउनुभयो । ‘जेन्डर ब्यालेन्स गरेर अघि जान आवश्यक छ, छुट्टै महिला संघ खोल्नु उचित होइन’ उहाँले भन्नुभयो । उहाँले संघको नेतृत्वमा २७ प्रतिशत पुगेको बताउनुभयो ।
काठमाडौं जिल्ला सहकारी संघका सञ्चालक अमरावती महर्जनले महिलाको नेतृत्व विकासका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । पुरुषले महिलालाई अवसर दिन नचाहने गरेको बताउनुभयो । ‘हामी सक्षम छौं भन्ने देखाउनुपर्छ, त्यसका लागि महिला क्रियाशील हुन जरुरी छ’ यउहाँले भन्नुभयो ।
ललितपुर जिल्ला बचत संघका लेखा समिति सदस्य ससी खड्काले महिलालाई घरपरिवारबाटै चुनौति बढ्दै जाने गरेको बताउनुभयो । उहाँले आफ्नो प्रारम्भीक सहकारीमा पुरुष सदस्य रहेपनि नेतृत्वतहमा महिला मात्र रहेको बताउनुभयो ।