Published On:Sunday, March 29, 2015
Posted by Unknown

मृत्युमन्त्रणा पछिको नाटक

१६ चैत्र, काठमाण्डौ । अन्नपूर्ण पाेस्ट दैनिकमा साैरभ लेख्छन् डा. केसी मरे म के गरौं त ?' प्रधानमन्त्रीको ओहदामा बसेका पात्रले नेपालको इतिहासमा देखाएको निकृष्ट गैरजिम्मेवारीपनको यो सम्भवत: तेस्रो उदाहरण हो। 'मृत्युघण्ट बज्नेछ' भनेर चार दशकअघि प्रतिपक्षविरुद्ध दिएको अभिव्यक्तिले कीर्तिनिधि बिष्टलाई कहिल्यै छोडेन।

'संस्कृत मृतभाषा हो' भनेर 'जयतु संस्कृतम्' आन्दोलनकारीविरुद्ध करिब सात दशकअघि पद्मशमशेर राणाले दिएको अभिव्यक्तिले उनलाई पनि इतिहासको खाडलमा जाकिदियो। यद्यपि यी तीनवटै प्रधानमन्त्रीको छवि भ्रष्ट र तानाशाहको छैन।

अन्नपूर्ण दैनिकको गत शनिबार अंकको 'डा. केसी मरे म के गरौं त?' मुख्य शीर्षक बनेको यो पंक्तिले नेपाली जनमानसलाई भयावह रूपमा क्रुद्ध बनाएको छ र क्रुद्धता बढी नै रहेको छ।
आफ्नो मुखबाट एक्कासि फुत्केको अपवाक्यले जनताबीच बढ्दो क्रोधज्वार बुझेकाले नै हुनुपर्छ, सुशील कोइरालाले शनिबार अपराह्न आफ्ना तीन प्रतिनिधि डा. गोविन्द केसीलाई भेट्न पठाए।

 प्रधानमन्त्री कोइराला र उनको सहयोगी एमालेले बुझ्नुपर्छ डा. केसी मरिहाल्नु त परको कुरा भयो, उनको शारीरिक प्रणालीमा मात्रै पनि कुनै अपूरणीय क्षति भयो भने त्यत्तिले नै हुरीको पत्कर बनाइदिनेछ यो सरकार र उसकै प्रणालीलाई पनि।

तर उनका प्रतिनिधि महेश आचार्यले सरकारी औपचारिक भाषाको रटिरटाउ ढाँचा पेस गरे तीन मिनेटसम्म। उनको बोलीमा अनशन तोड्ने औपचारिक आग्रहबाहेक कुनै मानवीय संवेदना, भावना र जाँगर थिएन।

तीन मिनेटको धाराप्रवाह भाषणपछि केसीको झन्डै १५ मिनेट भावुकता, नैतिकताका पाठ र जिम्मेवारीका प्रेरणामिश्रित बोली गयो। यसपछि नरहरि आचार्यले आँखा उठाएर केसीको ओछ्यानसँगैको भित्तामा टाँगिएको नौबुँदे माग पढ्ने प्रयास गरे।

अर्थात् वार्ता गर्न आउनुअघि मागबारे सामान्य जानकारीबाहेक अरू उनीसँग केही ज्ञान थिएन भन्ने देखिन्थ्यो। प्रधानमन्त्रीका अर्का प्रतिनिधि दिलेन्द्र बडू बोलेनन्।

यो कोइरालाका तर्फबाट रचिएको एक नाटक थियो, त्यो अभिव्यक्ति ले ल्याएको कम्पलाई मत्थर पार्न। एक आचार्य सरकारी 'रेटोरिक' सुनाउन, अर्को आचार्य डा. केसीको कुरा 'सुनिदिन' र बडू स्थितिको 'रिपोर्ताज' आइतबार बिहान कोइरालालाई बताउन आएका मात्र देखिन्थे। नाटक पूरै असफल रह्यो।
केसीका सहयोगी डा.राजेन्द्रराज वाग्लेले बुँदा नम्बर ५ सबैभन्दा महत्त्वपूर्ण हो भनेर पूरै पढेर सुनाउँदा बोल्दाबोल्दैका केसी चुप लागे। तर नेतात्रयका कुनै शब्द, कुनै वाक्य, कुनै हरफ त्यस खास बुँदामाथि निस्केन।

सरकारी संवेदनहीनताको यो अद्भूत दृश्य थियो। आखिर प्रधानमन्त्रीले त्यस्तो बोलेको होइन पनि भन्न नसक्ने, तर बोलेको कुरा छापेर नराम्रो किन गरिदिएको? भन्ने खालको लाज पचेको वक्तव्य प्रधानमन्त्रीको प्रेस सचिवालयले जारी गर्‍यो नै। बुझिन्छ, यो मन्त्रिमण्डल केसी मरिदिए हुन्थ्यो भन्ने प्रस्ट मनसायमा छ, जीवित रहेकी गंगामाया अधिकारी पनि मरिदिए हुन्थ्यो भन्ने मनसायमा रहेजस्तै।

आइतबारको अन्नपूर्ण पोस्ट्को मुख्य शीर्षकमा केसीले भनेका छन्- 'प्रधानमन्त्रीले मरोस् भन्दैमा म मर्दिनँ।' यद्यपि उनले प्रधानमन्त्रीका प्रतिनिधिलाई भनेका वाक्यहरू अर्कै थिए- 'यसपालि म मरें भने पनि एउटा नागरिकप्रतिको जिम्मेवारीबोध गरेर यी मागहरू पूरा गर्नुहोला।

मेरो काम बिरामीको उपचार गर्ने र उपचार गर्न सक्नेहरूको उत्पादन गर्नुमात्र हो। तर तपाईंहरूले जिम्मेवारी पूरा गर्न नसक्नुभएकाले त्यो पूरा गर्न तपाईंहरूलाई सजिलो होस् भनेरमात्र नागरिकका तर्फबाट यस्तो दबाब बढाउनुपरेको हो।'

उनको मनोबल अवश्य उच्च छ। तर डाक्टरको शरीर पनि सबैको जस्तै सामान्य शरीर नै हो। उनले भनेका छन्- 'अझै एक हप्ता म बोल्न सक्छु।' तर डाक्टरहरूले उनको शारीरिक प्रणालीमै अपूरणीय क्षति हुने बताइसकेका छन्।

त्यसैले कोइराला र उनको सहयोगी एमालेले बुझ्नुपर्छ डा. केसी मरिहाल्नु त परको कुरा भयो, उनको शारीरिक प्रणालीमा मात्रै पनि कुनै अपूरणीय क्षति भयो भने त्यत्तिले नै हुरीको पत्कर बनाइदिनेछ यो सरकार र उसकै प्रणालीलाई पनि।
 

0 comments for "मृत्युमन्त्रणा पछिको नाटक"

Leave a reply

    Popular Posts

    Blog Archive