Published On:Monday, March 23, 2015
Posted by Unknown
प्रचण्ड, बाबुराम र वैद्यले टाउकोमा आगो सल्काउनुपर्छः थापा

१० चैत्र, काठमाण्डौ - शान्ति प्रक्रिया विपरित सरकार अगाडि बढ्न खोजेको भन्दै शान्ति प्रक्रियामा आएपछि पाँचवटा समूहमा विभाजित माओवादीहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्। जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको निष्कर्ष निकाल्दै माओवादीहरूले कार्यगत एकता गर्ने कि पार्टी एकता गरेर अगाडि बढ्ने भन्ने विषयमा गृहकार्यमा जुटेका छन्,आजको नेपाल समाचार पत्रमा मधुसुदन रायामाझीले खबर लेखेका छन्।
एमाओवादी र नेकपा-माओवादीबीच पार्टी एकता प्रक्रिया अगाडि बढाउनका लागि वार्ता समिति गठन गरेर एकतालाई अगाडि बढाउन सात बुँदे प्रस्तावनै तयार गरिसकेको छन्। माओवादीहरूबीच हुने भनिएको एकतसँग प्रश्न पनि सँगै उठ्ने गरेका छन्। तर, एकतासँगै आशंका पनि जन्मिएको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापले पार्टी एकता भावना र लहडमा नहुने बताए। उनले माओवादी आन्दोलनले ल्याएका उपलब्धीहरू गुम्ने खतरा भएपछि माओवादीहरू एकै ठाउँमा आइपुगेको बताए।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू बिस्तारै सरकारले नियन्त्रण गर्दै आएको बताउँदै उनले कांग्रेस–एमालेले माओवादी क्रान्तिकारी पार्टी थियो र? भन्ने प्रश्न उठाइरहेकाले माओवादीलाई नजिक बनाएको बताए।
‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक र समावेशिता राजनीतिक मुद्दालाई पुनःस्थापित गर्नका लागि माओवादी एक ठाउँमा आउनुपर्ने ग्राउन्ड बनेको छ’ –उनले भने।
पार्टी एकताका लागि केही माओवादीहरूमा शक्ति संगठन र स्थापित नेताको दम्भ रहेको बताउँदै थापाले आमकार्यकर्ता, बेपत्ता तथा शहीद परिवार पूर्वजनमुक्ति सेना सबैले माओवादीहरू एकैठाउँमा आउनुपर्ने दबाब दिइरहेको बताए।
‘घाँटी र टाउका जुधाउँदैमा पार्टी एकता हुँदैन, विगतका गम्भीर भुल र त्रुटीहरूलाई सच्याई आत्मालोचना गरेर अगाडि बढ्नुपर्छ, कमी–कमजोरी नसच्याई एकताको अर्थ छैन’ –थापाले भने।
माओवादी आन्दोलनका नेतृत्व गरेका प्रचण्ड बाबुराम र मोहन वैद्यले रूपान्तरण गर्ने जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै पहिला उहाँहरूले नै आफ्नो टाउकोमा आगो सल्काएर शुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। पार्टी एकताका लागि प्रचण्डले सुधार गर्नुपर्ने पक्ष के हो? भन्ने प्रश्नमा महासचिव थापाले भने– ‘माक्र्सवाद, लेलिनवाद र माओवादलाई दह्रो गरेर पक्रनुपर्छ, प्रचण्डमा वर्ग रूपान्तरण भएको छ।’
यसमा प्रचण्डले आफैंले आफैंलाई प्रश्न गर्नुपर्छ। गुटको नेतृत्व गर्न छोडेर सबै माओवादीलाई एकै ठाउँमा ल्याउनुपर्छ। पार्टीभन्दा माथि उठेर नेतृत्व गर्नुपर्छ, र लाजिम्पाटको दरबार छोड्नुपर्छ।’
बाबुरामले पनि एउटा गुट चलाएर बसेको आरोप लगाउँदै थापाले भट्टराईलाई गुटभन्दा माथि उठेर समग्र माओवादी आन्दोलनको नेता हुन माक्र्सवाद, लेलिनवाद र माओवादलाई सृजनात्मक नाममा सुधार गरेर सुधारवादतिर जाने जुन खतरा छ त्यसबाट बच्न सुझाव उनले दिए। ‘बाबुरामजीलाई दक्षिणको आरोप पनि लाग्ने गरेकाले यसलाई पनि उहाँले क्लियर गर्नुपर्छ’ –उनले भने।
किरणजीले राजनीतिमा विचारको शुद्धता खोज्नुभएको छ, राजनीतिमा त्यति धेरै शुद्धता हुँदैन भन्ने कुरा बुझ्नुपर्ने बताउँदै थापाले भने– ‘वाम सङ्कीर्णता किरणको समस्या हो। विचारमा बढी सोच्नुहुन्छ। राजनीतिमा त्यति धेरै सोच्न सक्नुहुन्न। प्रचण्ड र बाबुराम पनि गुरु भएकाले समग्र माओवादी आन्दोललाई एक ठाउँमा ल्याउने हृदय ठूलो बनाउनुपर्छ।’