Published On:Sunday, November 30, 2014
Posted by Tekman Shakya
कर्मचारी र चालकले पाँच करोडको तेल चोरे
१५ मंसिर, काठमाडौ । नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोबाट तीन महिनामा पाँच करोड रुपैयाँ भन्दा बढीको इन्धन गायब भएको छ । त्यसमध्ये दुई करोड ५९ लाख बराबरको इन्धन निगमका कर्मचारी र चालकहरुले चोरी गरेका छन् ।
डिपोको सञ्चालन तथा प्राविधिक नोक्सानीबारे अध्ययन गर्न निगमले बनाएको कार्यदलले गत साउन, भदौ र असोजमा तीन लाख ५५ हजार नौ सय ६६ लिटर तेल गायब भएको प्रतिवेदन तयार गरेको नयाँ पत्रिकामा खबर छ ।
गत साउन २९ मा गठन भएको कार्यदलले मंसिर ९ मा निगम सञ्चालक समिति समक्ष प्रतिवदेन बुझाएको हो ।
आन्तरिक हवाई इन्धनको अहिलेको बजार मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । यसअनुसार तीन महिनामा पाँच करोड नौ लाख तीन हजार एक सय ३८ रुपैयाँ बराबरको इन्धन गायब भएको देखिन्छ । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोबाट निगमको सिनामंगल डिपोबाट इन्धन ल्याइन्छ ।
गायब इन्धनमध्ये एक लाख ८१ हजार ७ सय ७२ लिटर निगमको कर्मचारी र ट्याङकर चालकको मिलेमतोमा चोरी भएको प्रतिवेदनमा उल्लेख छ ।
साउनमा ४२ हजार पाँच सय ५५ लिटर, भदौमा ७५ हजार ७० लिटर र असोजमा ६४ हजार एक सय ४७ लिटर तेल चोरी भएको छ ।
बाँकी तेल ‘तापक्रम नोक्सानी’मा मिलान गरिएको प्रतिवेदनमा उल्लेख छ ।