शिखर सम्मेलनको बन्दसत्र अपराह्न ४ बजेदेखि
काठमाडौँ, ११ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)
को अठारौँ शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ ।
रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुग्नुभएका सदस्य मुलुकका
राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु अपराह्नमात्रै काठमाडौँ फर्कने कार्यक्रम
रहेको छ ।
उहाँहरु फर्कनु भएलगत्तै सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री
सुशील कोइरालाले अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको
बन्दसत्र सुरु भएको घोषणा गर्नुहुनेछ ।
बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलनको स्थान र मिति तय हुनेछ
भने त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुले संयुक्त रुपमा
१८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नुहुनेछ ।
प्रधानमन्त्री कोइरालाले अपराह्न ४ः०९ बजे निष्कर्ष सम्बोधन गर्नुभएपछि
भावी सम्मेलन आयोजना गर्ने मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले सहभागी
सबैलाई धन्यवाद ज्ञापन गर्नुहुनेछ ।
अपराह्न ४ः२२ बजे प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गर्नुभएपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन हुनेछ ।
सम्मेलन समापनपछि फोटोसत्र हुनेछ जसमा पहिले सदस्य मुलुकका
राष्ट्राध्यक्ष/सरकार प्रमुखले फोटो खिचाउने काम हुन्छ ।
त्यसपछि सदस्य
मुलुकका विदेश मन्त्री र विदेश सचिवहरुसमेत त्यसमा सहभागी हुनुहुनेछ ।