Published On:Wednesday, November 19, 2014
Posted by Unknown
तिमी दलित रहेछौ , मैले दलितले पकाएको खाने गरेको छैन
४ मंसिर, धादिङ । राष्ट्रिय बाणिज्य बैंक उपशाखा गजुरीले कामका लागि विश्वकर्मा थरकी एक महिलाको आवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

कार्यालय सहयोगीको लागि आवेदन मागेपछि गजुरी(१ आदमाराकी सन्तोषी विश्वकर्माले आवेदन बुझाउन लागेको तर बैंक म्यानेजरले फिर्ता गरिएको बताएकी छन् । निवेदन लिएर म्यानेजरकहाँ पुग्दा ‘दलित’ भन्दै नलिएको सन्तोषीको दावी छ ।
‘बैंकका म्यानेजर शंकरप्रसाद पौडेलले तिमी दलित रहेछौ । हामीकहाँ कार्यालय सहयोगीले चियाखाजा पनि पकाउनु पर्छ । मैले दलितले पकाएको खाने गरेको छैन भनेर फर्काइदिए’, सन्तोषीले भनिन्, ‘बरु धितो ल्याउन, सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइदिउँला । त्यसबाट आयमुलक काम गर्न तिमीलाई सजिलो हुन्छ भनेर मेरो निवेदन उनले लिएनन् ।’
म्यानेजर पौडेलले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताएका छन् । उनले आफूले सन्तोषीको आवेदन अस्वीकृत नगरेको तर तलब थोरै हुने जानकारी गराएको बताए ।
सन्तोषीका अनुसार उनी गत कात्तिक ३० गते आवेदन बुझाउन बैंकको कार्यालयमा थएकी थिइन् । म्यानेजरले आवेदन नलिएर आफ्नो अपमान गरेको भन्दै दलित अधिकारकर्मीको सम्पर्कमा पुगेकी छन् ।
सन्तोषीले अधिकारकर्मी गुहारेपछि मंसिर २ गते जिल्ला प्रहरीमा जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम म्यानेजरमाथि कारबाही माग गर्दै ठाडो निवेदन दिएको अधिकारकर्मी श्याम मगराँतीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।