Published On:Monday, January 12, 2015
Posted by Unknown
दक्षिण अफ्रिकाको अभ्यास खेलमा नेपालको पहिलो जित
२८ पुस, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुको तयारीका क्रममा दक्षिण अफ्रिका पुगेको पुगेको नेपाली टोलीले अभ्यास खेलमा पहिलो जित हात पारेको छ ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा एमपुमलांगालाई ६४ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।
बेनोनीमा नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको एमपुमलांगा ४४.५ ओभरमा १७० रन जोड्दा अलआउट भयो । उसका लागि लफ्रास लोलमनले सर्वाधिक ६२ रन बनाए । उनी करण केसीको बलमा बोल्ड आउट भए ।
कसिलो बलिङ गरेका करण केसीले १० ओभरमा ४८ रन दिएर उनले ५ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २ २ विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले ७९ रन बनाए । ११० बलको सामना गरेका उनले १० चौका र २ छक्का हानेका थिए । शरद भेसवाकरले ४४ रन बनाए । आक्रमक पारी खेलेका सोमपाल कामीले १७ बलमा तीन चौका र तीन छक्काको मदतमा अविजित ४० रन बनाए ।
उपकप्तान ज्ञानेन्द्र मल्लले २६ रन बनाए भने विनोद भण्डारी १५ र सुवास खकुरेल ४ मा आउट भए । बसन्त रेग्मी एक रनमा अविजित रहे भने नरेश बुढायर र सागर पुनले खाता नै खोल्न सकेनन् ।
एमपुमलांगाका निटलिङले चार विकेट लिएका थिए ।
@onlinekhabar