Published On:Wednesday, January 21, 2015
Posted by Tekman Shakya
संविधान निर्माणका लागि युवाहरुको सिर्जनात्मक दवाव
काठमाडौं, । समयमैं संविधानका लागि राजनीतिक दलहरुलाई सकारात्मकरुपले रचनात्मकल दवाव दिँदै आएको नागरिक समूहले संविधान निर्माणका लागि रचनात्मक दवाव दिने उद्देश्यसहित राष्ट्रकवि माधव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कविता वाचन तथा यो देशमा म एउटा मानिस खोजिरहेछु नामक भिडियो सार्वजनिक गरेको छ ।
शिर्ष दलहरुलाई संविधान जारी गर्न तथा संविधान सभाको विदाई गरि युवा पुस्तामा नेतृत्व पुस्तान्तरणको अभियान चलाउन दवाव दिँदै आएको नागरिक समुहले माघ ८ को समय गुज्रिरहँदा रचनात्मक दवाव स्वरुप कार्यक्रम गरेको हो ।
कार्यक्रमका राष्ट्रकवि माधव प्रसाद घिमिरेले देश अब युवाहरुको काँधमा रहेको बताउँदै मुलुकमा योग्य र सक्षम व्यक्तिको खाँचो रहेको औंल्याए । राष्ट्रकविले भने—‘देशलाई फुटाउने होईन, जोड्ने नेताको खाँचो छ, स्वाभिमानसहित गर्व गर्ने नेपालीहरुलाई एकतामा बाँध्ने नेताको आवश्यकता छ ।’
एक वर्षको दौरानमा देशव्यापी दवाव, धर्ना, शिर्ष दलका शिर्ष तथा युवा नेता, राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतलाई समयमैं संविधान जारी गरि मुलुकलाई आर्थिक समृद्धिमा लैजानका दवाव दिँदै आएको नागरिक समुहले अस्थिर राजनीतिबाट जोकोहीले फाईदा लिने हुँदा संविधान जारी गर्न बिलम्ब गर्न नहुने बताउँदै सकारात्मक दवावमूलक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा समुहका संयोजक निगम हुमागाईंले देशलाई बन्धक बनाउन नहुने तर्क गर्दै अब जनता आफैं सचेत भैसकेको र देशकोबारे निर्णय लिन सक्ने बताउँदै दलहरुले अब जनतालाई झुक्याउन नसक्ने दावी गरे ।
भिडियो सार्वजनिक कार्यक्रममा भिडियोका निर्देशक एवं नागरिक समुहका अभियन्ता प्रेम बानियाँले देश संक्रमणबाट गुज्रिरहेको तथा मुलुक गम्भिर भड्खालोमा फस्न सक्ने भएकाले समयमैं दलहरुलाई दवाव दिनु पर्ने बताए । उनले देश गम्भिर अवस्थामा रहेकोले राजनैतिक निकास दिन जरुरी भएको बताए ।
कार्यक्रममा कवि तथा व्यंग्यकार लक्ष्मण गाम्नागे, विमल नेपाल, प्रा. वामदेव शर्मा, बहादुर पाइजा मगर, प्रा.डा. यादव प्रसाद ढुंगाना लगायतले कविता बाचन गरेका थिए भने डिजिटल पत्रिकाको अनलाईन संस्करणको शुभारम्भ गरिएको थियो ।