Published On:Sunday, January 18, 2015
Posted by Unknown
नेपाली स्टुडियोमा विदेशीका गीत रेकर्डिङ
पोखराको लेकसाइड पर्यटकको चहलपहल हुने क्षेत्र हो । यही क्षेत्रमा खोलिएको एउटा गीत रेकर्डिङ स्टुडियो यतिबेला विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । पोखराका गायक तथा संगीतकार किरण गुरुङले लेकसाइड क्षेत्रमा लेक भ्यू रेकर्डिङ स्टुडियो खोलेका छन् ।
एक वर्ष अघि खोलिएको उक्त स्टुडियोमा विदेशी पर्यटकहरू गीत रेकर्ड गर्न आउन थालेपछि गुरुङ दंग छन् । 'पर्यटक नै गीत रेकर्ड गर्ने ग्राहक बन्लान् भनेर सोचेको थिइन' गुरुङले भने, 'अहिले गीत रेकर्ड गर्न आउनेहरूमा अधिकांश विदेशी पर्यटक नै छन् ।' अमेरिकाबाट आएका एन्ड्रीले उक्त स्टुडियोमा टिपिकल शैलीको आफनै देशको राष्ट्रियता झल्कने गीत रेकर्ड गराए । घुम्न आएका बेला स्टुडियो देखेपछि उनमा गीत रेकर्ड गर्ने मोह जाग्यो ।
यसरी गीत रेकर्ड गर्ने अधिकांश गीत-संगीतमा होमिएका व्यक्तित्व हुने र केहीले सौखका रूपमा गीत रेकर्ड गराउने रेकर्डिस्ट चुन पुनले बताए । 'अधिकांश त गायन क्षेत्रमा लागेकाहरू नै छन्, ' पुनले भने, 'धेरैले रक शैलीका गीत रेकर्ड गराउने गरेका छन् ।' अहिले उनीसँगै गुरुङलाई स्टुडियोमा आउने विदेशी कलाकारका गीत रेकर्ड गराउन भ्याइनभ्याइ छ । उनीहरूले एउटा विदेशी गीत रेकर्ड गराएबापत १० हजार रुपैयाँ शुल्क लिने गरेका छन् । स्लोभाकियाकी चर्चित रक गायिका नोरता दोनाबाले उक्त स्टुडियोमा गीत रेकर्ड गराएर एल्बम नै तयार पारिन । 'जस्ट' शीर्षकको उक्त एल्बममा ११ वटा गीत छन् । लेकसाईडको रेस्टुराँमा बज्ने लाइभ संगीतमा युवाहरूले बजाउने संगीतबाट प्रभावित भएर नोरताले स्थानीय ड्यामेज गिल्र्टस ब्यान्डको संगीतमा एल्बम तयार पारेकी हुन । अहिलेसम्म सयभन्दा बढी विदेशी पर्यटकका गीत रेकर्ड गरिसकेको लेक भ्यू रेकर्डिङ स्टुडियोले २० भन्दा बढी एल्बम समेत निकालिदिएको गुरुङले बताए । उक्त स्टुडियोमा बेलायत, बेल्स, अमेरिका, जापान, जर्मनी, रूस आदि मुलुकका कलाकारले गीत रेकर्ड गराएका छन् भने ५० भन्दा बढी विदेशीले सिंगल ट्रयाक निकालेका छन् ।