Published On:Wednesday, January 28, 2015
Posted by Tekman Shakya
पर्यटकीय नगरी तानसेनमा प्याराग्लाइडिङ सेवा सुरु हुने
पाल्पा । पाल्पाको तानसेन कैलाशनगरको सुकुम्बासी टोल नजिकैको प्रतिक्षालय रहेको स्थानबाट फागुनको पहिलो हप्तादेखि प्याराग्लाइडिङ सेवा सुरु हुने भएको छ ।
जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रमुख लक्ष्यका साथ प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ ।
यसबाट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । कैलाशनगरको सुकुम्बासी टोलदेखि प्याराग्लाइडिङको उडान हुनेछ ।
पाल्पा एड्भेन्चर प्रालिले तानसेनको प्रभाषस्थित खेल मैदानमा प्याराग्लाइडिङलाई अवतरण गर्ने व्यवस्था मिलाएको छ । तर प्यारा पाइलटले आकस्मिक रूपमा जुनसुकै स्थानमा पनि झर्न सक्नेछन् ।
पाल्पा एड्भेन्चर प्रालिले प्याराग्लाइडिङको सम्भाव्यता भएका क्षेत्रको अध्ययनबाट तानसेनको श्रीनगर होटल नजिकै प्रतिक्षालय रहेको स्थान हालका लागि बढी उपयुक्त रहेकाले रु डेढ करोड लगानीमा प्याराग्लाइडिङको सेवा सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेको सञ्चालक यादवसिंह कार्कीले बताउनुभएको छ ।
यसबाट पाल्पाका विभिन्न पर्यटकीय गन्तव्यमा प्याराग्लाइडिङमार्फत चरा जस्तै उडेर मान्छेहरूले अवलोकन गर्न सक्ने भएका छन् । तानसेनको बतासेडाँडा रहेको मुस्लिमडाँडा, गोरखेकोटाको डाँडा पनि प्याराग्लाइडिङका लागि सम्भाव्यता रहे पनि विद्युत् लाइनका कारण हाल कैलाशनगरबाट प्याराग्लाइडिङको उडान हुनेछ ।
पाल्पा एड्भेन्चर प्रालिद्वारा पाल्पामा साहसिक खेल प्याराग्लाइडिङगका सम्भाव्य क्षेत्रको अध्ययन गरी नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीको प्रतिवेदनका आधारमा मन्त्रालयले सञ्चालनका लागि अनुमति दिनेछ ।