Published On:Monday, January 26, 2015
Posted by dadad
नेशनल ट्रेडिङबाट मात्रै ग्याँस वितरण गरेर समाधान हुँदैनः महासंघ
नेशनल ट्रेडिङबाट ग्याँस वितरण गर्ने सरकारको कदमप्रति ग्याँस विक्रेता महासंघले असन्तुष्टी व्यक्त गरेको छ ।
देशभरका उपभोक्ताको मागलाई नेशनल ट्रेडिङले मात्रै धान्न नसक्ने भन्दै महासंघले यसको जिम्मेवारी डिलरहरुलाई नै दिनुपर्ने माग गरेको छ ।
नेपालीमाटोसँग कुरा गर्दै महासंघका महासचिव चन्द्रबहादुर थापाले नेशनल ट्रेडिङ अगाडीको हजारौँ संख्याको भिडलाई एक ठाउँले मात्रै धान्न नसक्ने बताए ।
लामो समय लाईन बस्दा समेत ग्याँस पाउन मुस्किल भएको भन्दै उनले कृतिम अभाव सिर्जना गरिएको भए त्यस्तालाई कारबाही गरेर डिलरलाई नै वितरणको जिम्मेवारी दिनुपर्ने बताए । आईतबारदेखि सरकारले करीब ९ हजार ग्याँसको सिलिन्डर वितरण गरेको छ ।
सरकारले संचालन गरेको पसलबाट ग्याँस लिनेको भिड निकै बढेको छ । करीब दुई महिनादेखि ग्याँस विक्रेताहरुले ग्याँसमा कार्टेलिङ गर्नाले उपभोक्ता मर्कामा परेका छन् ।
उपभोक्ताकै लागि निगमले उपत्यकाका विभिन्न ग्याँस कम्पनिहरुसँग समन्वय गरेर विक्री सुरु गरेको जनाएको छ ।
ट्रेडिङको कार्यालयबाट तीन दिनसम्म मात्रै विक्री गरिने भनिएपनि उपभोक्ताको चाप बढी देखिएमा यसलाई निरन्तरता दिने आयल निगमले जनाएको छ ।
निगमले दिउँसो १ देखि ४ बजेसम्म कार्यालयबाट ग्याँस विक्री गरिरहेको छ ।