Published On:Monday, January 26, 2015
Posted by Tekman Shakya

बागलुङमा एड्सबाट २५ जनाको मृत्यु

१३ माघ, बागलुङ । बागलुङमा एचआइभी/एड्सबाट पच्चीसजनाको मृत्यु भएको छ । विसं २०६४ साउनदेखि यता एड्सबाटै मृत्यु हुनेको सङ्ख्या पच्चीस पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

मृत्यु हुने सबै एड्सको अवस्थामा पुगेर एआरभी औषधि लिइरहेका व्यक्ति हुन् । यो तथ्य धवलागिरि अञ्चल अस्पतालले एआरटी केन्द्र सुरु गरेपछिको हो । 

अस्पतालले केन्द्रमार्फत २०६४ साउनदेखि एड्सका बिरामीलाई एआरभी सेवा सुरु गरेको हो । ‘अहिलेसम्म पच्चीसजनाको मृत्यु भइसकेको छ, हाल नियमित एआरभी औषधि लिने ११० छन्’–एआरटी केन्द्रका इन्चार्ज ऋषिराम शर्माले भने ।
उनका अनुसार धवलागिरि अञ्चल अस्पतालमा २८१ जना एचआइभी सङ्क्रमित दर्ता छन् । तीमध्ये १८४ एआरभीमा गइसकेकामा नियमित औषधि लिने ११० मात्र रहेका छन् । 

बाँकीमध्ये पच्चीसजनाको मृत्यु भइसकेको, ४५ जना अन्यत्रै सरेको र चारजना सम्पर्कविहीन भएको इन्चार्ज शर्माले जानकारी दिनुभयो । एचआइभी सङ्क्रमणपछि एड्सको अवस्थामा पुगेका बिरामीलाई मात्र एआरभी औषधि चलाइने उनको भनाइ छ ।

सङ्क्रमित व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता (सिडिफोर) ३५० भन्दा तल झरेमा र विश्व स्वास्थ्य सङ्गठनद्वारा निर्धारित (क्लिनिकल्ली तेस्रो) अवस्थामा पुगेकालाई एरआरभी औषधि चलाउने गरिएको छ ।
अञ्चल अस्पतालबाहेक जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रले एचआइभी परामर्श तथा निःशुल्क रक्त परीक्षण सेवा दिइरहेका छन् । 

एचआइभी सङ्क्रमण रोक्न विभिन्न सङ्घसंस्थाले पनि अभियान चलाएका छन् ।
धवलागिरि अञ्चल अस्पतालले आइतवार, मङ्गलबार र बिहीबार एआरभी सेवा दिँदै आएको छ । यो सेवा सञ्चालन भएपछि एआरभी खान अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । यसै वर्षदेखि म्याग्दी जिल्ला अस्पतालले पनि एआरभी सेवा सुरु गरेको छ । रासस

0 comments for "बागलुङमा एड्सबाट २५ जनाको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive