Published On:Wednesday, January 21, 2015
Posted by Unknown

नामिबिया नेट रनरेटमा नेपालभन्दा अगाडि

८  माघ , काठमाडौँ  नेपाल आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन एकको नजिक पुगेको छ। नामिबियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत बुधबार भएको खेलमा आयोजक राष्ट्रलाई तीन विकेटले हराउँदै नेपालले डिभिजन एकमा उक्लने सम्भावना बलियो बनाएको हो। प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो। नेपाल चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। समान अंक भएको नामिबिया नेट रनरेटमा नेपालभन्दा अगाडि छ।

नेदरल्यान्ड्स र क्यानडाले चारचार अंक जोडेका छन्। अब सबै टोलीले एकएक खेल खेल्न बाँकी छ। नेपालले आगामी शुक्रबार केन्यासँग अन्तिम खेल खेल्नेछ।

जारी प्रतियोगितामा तुलनात्मक रूपमा कमजोर देखिएको केन्यासँग पराजित भए पनि नेपाल डिभिजन एकमा उक्लने सम्भावना छ। नेपाल नेट रनरेटमा नेदरल्यान्ड्स र क्यानडाभन्दा अगाडि छ।

राउन्ड रोबिन लिगको समाप्तिपछि तालिकाको शीर्ष दुई स्थानमा आउने टोली डिभिजन एकमा पुग्ने प्रावधान छ। नेपाल हालसम्म डिभिजन एकमा पुग्न सकेको छैन।

पहिलो खेलमा युगान्डासँग पराजित नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन खेलमा बलिया टोली क्यानडा, नेदरल्यान्ड्स र नामिबियालाई हराएको हो। क्यानडा र नेदरल्यान्ड्सले पछिल्ला तीनसहित चारवटा विश्वकप खेलेका थिए।

एकपटक विश्वकप खेलेको नामिबिया पनि डिभिजन एकबाट डिभिजन दुईमा झरेको टोली हो। यी तीनवटै टोलीमाथि नेपालले एकदिवसीय क्रिकेटमा पहिलोपटक जित हात पारेको हो।


नेपालले नामिबियाविरुद्ध पनि उत्कृष्ट बलिङ गर्दै जित आधार तयार गरेको थियो। नामिबिया अघिल्ला तीनवटै खेलमा विजयी भएको थियो।

टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ४९.१ ओभरमा एक सय ४२ रन बनाउँदै अलआउट भयो।

घरेलु टोलीलाई सस्तोमा समेट्न नेपाली बलर करन केसीले तीन तथा सोमपाल कामी, वसन्त रेग्मी र शक्ति गौचनले दुईदुई विकेट लिए।


नेपालले ३७.५ ओभरमा सात विकेट गुमाएर एक सय ४६ रन बनाउँदै विजय लक्ष्य पार ग:यो। कप्तान पारस खड्काले ६४ रन बनाए। उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ३१ रनको योगदान गरे। विनोद भण्डारीले १८ रन थपे।

वसन्त रेग्मी पाँच र सोमपाल कामी दुई रनमा अविजित रहे। लगातार दोस्रो खेलमा अर्धशतक बनाएका पारसले ५६ बलमा तीन छक्का र ६ चौका प्रहार गरे।
ज्ञानेन्द्रले ७३ बलमा दुई चौका हिर्काए। पारस लगातार दोस्रो खेलमा म्यान अफ दि म्याच घोषित भए।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।




0 comments for "नामिबिया नेट रनरेटमा नेपालभन्दा अगाडि"

Leave a reply

    Popular Posts

    Blog Archive