Published On:Monday, January 26, 2015
Posted by dadad
सडक सङ्घर्ष गर्ने एमाओवादी गठबन्धनको निर्णय
१२ माघ, काठमाडौँ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्तापक्ष दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले विगतका सहमति तथा सम्झौताको मान्यता विपरीत गएर सत्ताधारी दल प्रस्तुत भएको र तटस्थ रहनुपर्ने संविधानसभाका अध्यक्षले पनि विपक्षीको धारणालाई कुनै सुनुवाइ नगरेको भन्दै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
अन्तरिम संविधान, २०६३ विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएका सहमति तथा सम्झौतालाई संस्थागत गर्ने महत्वपूर्ण अवसरका रूपमा संविधान निर्माण प्रक्रियालाई लिइएको भए पनि सरकारमा रहेका दल र सभाध्यक्षको भूमिका त्यसविरुद्ध परिलक्षित रहेको भन्दै बैठकले विभिन्न चरणमा जनपरिचालन गर्ने निष्कर्ष निकालेको उहाँले उल्लेख गरे ।
संविधानसभाको आइतबारको बैठकमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणमा देखिएका विवादलाई प्रश्नावली बनाउनका लागि प्रश्नावली समिति गठन गरेका थिए । समिति गठन लगत्तै एमाओवादीलगायतका दलले सत्ताधारी दल र सभाध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।