Published On:Tuesday, January 27, 2015
Posted by Unknown
तोडफोड गर्ने सभासदलाई निलम्बनको तयारी
१४ माघ, काठमाण्डौ- संविधान सभाको माघ ६ गते बिहान पौन २ बजे गरिएको तोडफोड, आक्रमणको घटनामा संलग्न सभासदहरुलाई संविधान सभा नियमावलीअनुसार निलम्बनको तयारी गरिएको छ । घटनाको छानविन गर्न संविधान सभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले माघ १५ गतेसम्म संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
घटनाको फुटेजसहित हेरेर प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए । घटनामा दुईवटा टीभी स्क्रिन, कुर्सी, टेबल, माइकसहितका सरसामान तोडफोड गरिएका थिए । अहिलेको अध्ययन अनुसार एमाओवादी सभासदहरु उमेशकुमार यादव, अमनलाल मोदी थारु, दलजित श्रीपाइली, शिवकुमार मण्डल कारवाहीमा पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाको क्रममा सभासदहरुले कुर्सी तोडफोड, अध्यक्ष नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारीलाई ताकेर माइक प्रहार गरेका थिए । अध्ययनको प्रतिवेदन अनुसार अभद्र व्यवहार गर्ने थप दुई÷तीन जना सभासद कारवाहीमा तानिनसक्ने अनुमान गरिएको समाचार गोरखापत्र दैनिकले बुधबार छापेको छ ।