Published On:Thursday, November 20, 2014
Posted by dadad

सार्क सम्मेलन र नेपालको कमजोर कुटनीति

उत्तम वि.क.,
यही मंसिर १०–११ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन (सार्क) को अठारौ शिखर सम्मेलन काठमाडौमा हुदैछ । सन् १९८५ डिसेम्बर ७–८ मा बंगलादेशमा नेपाल लगायत बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सहित सात राष्ट्र मिलेर बनेको सार्कमा हालै नयाँ सदस्यको रुपमा अफगानिस्तान थपिएपछि सार्क सदस्य राष्ट्रहरुको संख्या आठ पुगेको छ । 

सन् १९८७ मा तेस्रो शिखर सम्मेलन, सन् २००२ मा एघारौ शिखर सम्मेलन र अहिले सन् २०१४ मा गरि तीन पटक नेपालले सार्क शिखर सम्मेलनको आयोजना गरिसकेको छ । सार्कको बडापत्रलाई आधार मान्ने हो भने दक्षिण एसियाको साझा हित तथा आर्थिक, साँस्कृति, प्राविधिक, सामाजिक एवं वैज्ञानिक क्षेत्रहरुमा आपसी सहयोग र प्रवद्र्धन गर्नु नै रहेको छ तर कथनी र करनीमा आकाश पातालको फरक देखिएको छ भन्दा अनुपयुक्त नहोला ।

अहिले नेपाल विशेष गरि काठमाडौलाई सार्क सम्मेलनकै लागि करोडौ खर्च गरेर सिगार्ने काम भएको छ । मुख्य गरी देशको राजधानी काठमाडौमा बिषेश प्रकारको माहौल सिर्जना भएको छ । जताततै सडक विस्तार गर्ने कामदेखि सडकका छेउछाउमा रहेको बिजुलीको खम्बाहरुमा सोलार प्यानल जडान गरि बत्ति बाल्ने कामहरु भैरहेका छन । सरकारी भवनहरुमा मात्रै नभई बाटोबाट देखिने सर्वसाधारणका घरहरुमा समेत रंगरोगन गरिदिने काम समेत तीव्रताका साथ गरिरहेकाछन् । 

अहिले काठमाडौमा देखिएको रौनक र सरकारी काम गराई देख्दा यस्तो लाग्छ कि नेपाल छिट्टै बिदेशी राष्ट्रहरु जस्तै बिकशित बन्दै छ । दिनानुदिन सार्क सम्मेलन हुने दिन नजिकिदै छ र कर्मचारी देखि सम्पुर्णलाई सार्क सम्मेलनसँग सम्बन्धित कामहरु सक्ने चटारो पनि बढिरहेको छ । तर विडम्बना सार्क सम्मेलनको फाइदा काठमाडौ र विशेष गरि मुख्य सडकका छेउहरुले मात्र पाएको छ । सम्मेलनको नाममा भइरहेको रंगरोगन झकिझकाउ र विकसित माहौल हेर्दा लाग्छ हाम्रो देशको सरकार विदेशीलाई कस्मेटिक विकास देखाउन लागि परेको छ । जुन सार्क सम्मेलनको समाप्तीसँगै दुलही अन्माएपछिको जग्गे जस्तै सुनसान र निरस नहोला भन्न सकिन्न ।

देशका अधिकांस जनताहरु सरकारको काम गराइबाट आजित छन् । महँगी, भ्रष्टाचार, अभाव तथा गरिवीबाट आक्रान्त छन् तर सरकारमा आसिनहरुको व्यवहार हेर्दा र सार्कको नाममा गरिएको काम हेर्दा लाग्छ काठमाडौ बाहेक दुरदराजका बस्तीहरु सवै अरु नै देशका अरु नै राज्यहरु हुन् । यदि चाहने हो र इच्छा शक्ति हुने हो भने राज्यले आफ्ना सम्पुर्ण स्रोत र साधनहरु परिचालन गरेर देशमा कायापलट गर्न सक्दोरहेछ भन्ने धारणाको विकास भने गर्न सकेको छ सार्क सम्मेलनको दौरान तर के पनि निश्चित छ भने सार्क सम्मेलनको समाप्तिसँगै आफ्ना काला कर्तुतहरु काला पर्दाले छोपेर सर्वसाधारणका घरहरु किन रंगाइएको थियो भन्ने नाटकको पनि पटापेक्ष हुने निश्चित छ ।

देखावटी र सजिसजाउमा सरकारले कुनै कसर बाँकी नराखे पनि कुटनैतिक रुपमा कति कमजोर रहेछ भन्ने कुरा पाकिस्तानी प्रधानमन्त्री नवाव सरीफको आफु चढ्ने गाडी आफै ल्याउने तयारीले प्रष्ट बनाइसकेको छ । आफुसँग भएका बुलेटप्रुफ गाडीहरु चाहि विग्रिएको बहानामा थन्काएर राख्ने र भारतबाट भाडामा गाडीहरु झिकाउने भ्रष्ट मानसिकताका कारण एवं भारत र पाकिस्तानवीच भइरहेको द्धन्दलाई ठिक ढंगले पहिचान गर्न नसक्नुको कारण पनि क्षेत्रिय कुटनीतिमा नेपाल अपरिपक्व सावित भएको छ । 

सार्क शिखर सम्मेलनको बहानामा अन्य ६ देशहरुलाई छोडेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरदेखि काठमाडौसम्म नागरिक अभिनन्दन गराउने, सार्वजानिक सम्बोधन गर्न दिने र अझ भारतीय प्रधानमन्त्रको अनुरोधलाई अस्वीकार गर्न नसकेको अभिव्यक्ति स्वयं एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्रीले दिनुले कुटनैतिक रुपमा लाजमदौ स्थिती पैदा गरेको छ ।

मंसिर १० गतेबाट काठमाडौमा हुने अठारौ सार्क शिखर सम्मेलन दक्षिण एसियलाी देशका राष्ट्रप्रमुखहरुको बसिवियाँलो मात्र हुनुहुदैन । यस सम्मेलनले एक या दुई पक्षीय भन्दा पनि सामुहिक हितलाई सर्वोपरि राखी सदस्य मुलुकहरुबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार तथा विकास गर्नको लागि ध्यान दिन जरुरी छ । विगत जस्तै जम्मा हुने र घोषणापत्र जारी गर्ने भन्दा पनि घोषणा कार्यान्वयनमा जोड दिन सक्यो भने सार्कको वास्तविकता उजागर हुने मौका पाउनेछ अन्यथा “हात्ती आयो हात्ती आयो फुस्सा” बाहेक केही हुनेछैन ।

0 comments for "सार्क सम्मेलन र नेपालको कमजोर कुटनीति"

Leave a reply

    Popular Posts

    Blog Archive