Published On:Tuesday, November 18, 2014
Posted by dadad
सिकाईमा दण्ड किन ?
![]() |
प्रकाश पौडेल, |
मानव सभ्यता र सुसंस्कृतिको प्रमुख तथा भरपर्दो आधार शिक्षा भएको र आजको समयमा शिक्षित, दिक्षित हुने हजारौं बालबालिकाहरु भोलिका सुन्दर सृजना र देशका कर्णधार हुने भएकाले राज्यले शिक्षामाथि ठूलो विश्वास राखेको छ । भौगोलिक विकटता र मानसिक दरिद्रताको बीचमा पनि ठूलो संख्यामा शिक्षण संघ संस्था खुल्नु र मध्यम अनि निम्नवर्गीय अभिभवाकहरु समेत आफ्ना सन्तानको शिक्षाप्रति जागरक रहनु स्वागतयोग्य कुरा हो ।
तर अनुशासन र गुणात्मक शिक्षाको नाममा विद्यार्थीमाथि थोपरिने दण्ड, सजाय, वस्तु, उनीहरुको सिर्जनाशीलता र व्यक्तित्व विकासमा नकारात्मक प्रभाव पार्दछ भन्ने सोच सहितको कार्यान्वयन पक्षमा यथेष्ठ ध्यान पु¥याउन नसक्नु ठूलो कमजोरी हो । सभ्य र समुन्नत समाज निर्माणको लागि यो एउटा राष्ट्रिय वहसको विषय बन्नु पर्दछ ।
विद्यालय शिक्षा बालबालिकाको जीवनका आधार स्तम्भ हुन् । जसको व्यवस्थित र वैज्ञानिक व्यवस्थापन गराउन आवश्यक छ । नवकोपिलाहरुको भावनालाई स–सम्मान बुझी प्रतिभा र सम्भावनाहरुको अध्ययनमार्फत मूर्तरुप प्रदान गर्न शिक्षक, अभिभावक र समग्र समाजको अन्तरसम्बन्ध रहेको हुन्छ । विद्यालय खोल्नु, अभिभावकले विद्यालय उमेर समुहका छोराछोरीहरुलाई विद्यालय उपस्थित गराउनु र विद्यालयले शिक्षकहरु नियुक्ति गर्नुलाई नै सबै थोक मान्ने हालको प्रवृतिले शिक्षा क्षेत्र ठूलो संटकको दलदलमा फसिरहेको छ ।
विद्यालय राम्रो व्यवस्थापन, शिक्षकको कार्यकुशलता तथा अभिभावकको जिम्मेवारीपनले विद्यार्थीमा ज्ञान, रुची र क्षमताको विकास मात्रै गर्न नभईकन उसको सृजनात्मकता र उत्सुकतालाई नयाँ आकार दिँदै उचाईमा पु¥याउँछ । डर र त्रासमा राखेर आफ्नो पुरातन सोच र शैलीको माध्यमबाट अव्यवहारिक तथा अवैज्ञानिक शिक्षा विद्यार्थीमा बलजफ्ती थोपर्न अभ्यस्त अधिकांश शिक्षकहरु आफूलाई पुनरावलोन गर्न आवश्यक ठान्नुहुन्न । “आफ्नो गोरुको बाह्रै टक्का” भनेझै आफूमा जे, जति छ त्यसको अत्यधिक घमण्डतामा अडिग रहन रुचाउनु हुन्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूदायले अभ्यास गरेका विद्यालयका नयाँ संरचना, शिक्षण सिकाइको नयाँ विधि र प्रक्रिया तथा व्यवहारिक शिक्षाको आरम्भजस्ता विषयहरुमा आफूलाई जानकार नराखिकन विद्यालयमा आफ्नो अस्वस्थ वर्चश्व कायम राख्ने शिक्षकहरु मात्रै नभइकन विद्यालय नै सबैथोक हो र शिक्षकको काम र शैलीप्रति प्रश्न उठाउने आफ्नो हैसियत छैन र आवश्यक छैन भनी सोच्ने आम अभिभावकको कारण दिनानुदिन शिक्षाले आफ्नो तौल र आकार प्रकारको आयतन घटाउँदै छ ।
झनै शिक्षित भएका प्रमाणपत्रधारी कर्मचारी तथा शिक्षकहरु नै पनि आफ्ना छोराछोरीको भविष्यको निर्माण गराउन दण्डको बाटो अपनाउने वातावरण बनाइदिने तथा मौन स्वीकृत जनाउने गर्दछन् । यस्तो प्रकारको असभ्य क्रियाकलापले मोति निशानीको शब्दमा “बालबालिकाको सबैभन्दा महत्वपूर्ण विशेषता उनीहरुको सिक्ने उत्सुकता” निष्कृय भएर जानेछ ।
आधुनिक, व्यवहारिक र वैज्ञानिक शिक्षाको माध्यमबाट विश्वबजारमा सजिलै खपत हुने र देशको सार्वङ्गीण पक्षको विकास गराउन सक्ने शिक्षाको खोजीमा जुटेका भनिएका असंख्य शैक्षिक संस्थाहरु, शिक्षक शिक्षिका, शिक्षक विद्यार्थी संघ संगठनहरुकै बीचमा विद्यालयभित्र अमानवीय क्रियाकलाप एकपछि अर्को गर्दै दोहोरिएको छ । भयरहित वातावरणमा बालसुलभ विद्यालयको अवधारणा कार्यान्वयनमा प्रश्न चिन्ह उठेको छ । तालिम अप्राप्त र असक्षम शिक्षक अनि गैर जिम्मेवार अभिभावकका बीचमा पिल्सिएका विद्यार्थीहरुले भोग्नु परेका र खेप्नु परेका समस्याहरु धेरै सार्वजनिक नै हुँदैनन् ।
मानसिक, शारीरिक र भावनात्मक सँजायका सिकार बनिरहेका विद्यार्थीहरु असुरक्षितको डरले घटना गुपचुप राख्छन् र विद्यालय तथा शिक्षकका कारणले भएका ठूला घटनाहरुलाई ढाकछोप गर्ने गरेको पाइन्छ । शिक्षकका सँजाय र गाली, वेइज्जतीका कारण विद्यालय शिक्षाबाट अगल्गिन बाध्य पारिएका सयौं विद्यार्थीहरु छन् केही आत्महत्याको समेत गरेका छन् । सल्लाह, परामर्श र व्यक्तिगत विभिन्नताको शक्तिलाई चिन्न नसक्दा आज शिक्षकहरु शिक्षणलाई आफ्नो पेशा बनाउन सकिरहेका छैनन् । पछिल्लो समय संचार माध्यमबाट बाहिर आएका विराटनगरका दुई घटना र पाल्पाको एक घटनाले हाम्रो सभ्यता र स्तरको पर्दाफास गरेको छ ।
यि त केही प्रतिनिधि घटनाहरु मात्रै हुन् । झोलामा मीठा मधुको खोल भेटिएको निहुँमा मानसिक सन्तुलन नै गुमाउने गरी सँजाय पाएकी १४ वर्षिया बालिका सुस्मिता आचार्यको घटना तथा गणित विषयको सूत्रहरु भन्न नसक्दा कक्षा ८ का ३८ जना नै विद्यार्थीलाई छडी र पाइपले नीलकडम हुने गरी दिइएको यातनाले शिक्षकको मान र सम्मान घटेको छ, हैसियत पत्ता लागेको छ । पाल्पाका दुई विद्यार्थीमाथि दुई शिक्षकले लत्त्ती बर्साएको घटनालाई सामान्य मान्ने र फेरी पनि ढाकछोप गर्ने हो भने विद्यालय विद्यार्थीको लागि भय मुक्त कदापी रहन सक्दैन ।
विद्यार्थीमाथि दिइने दण्डहरु गालामा चड्कन दिने, पुठ्ठामा हिर्काउने, मुक्का हान्ने, लात्तीले घोच्ने, कन्सिरीको रौ तानिदिने, विद्युतीय झड्का दिने, दिसा पिसाब गर्न बाट रोक्ने, उठबस गराउनु कुखुरा बनाएर राख्ने, उसका गल्ती सार्वजनिक गरिदिने, शौचालयमा थुन्ने औलाको बीचमा कलम राखेर धुमाउने, साथीलाई पिट्न लगाउने, कपडा फुकालिदिने जस्ता शारीरिक र मानसिक आधात पु¥याउने क्रियाकलापको पनि रचनात्मक तरिकाले प्रयोगबाट घटाउँदै अन्ततः निर्मुल नै गर्नुपर्दछ ।
एजुकेशन हेल्पन लाइन, बाल अधिकार महासन्धी, संयुक्त राष्ट्र बालकोष, राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति मात्रै नभई बालबालिकाको हकहित र संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र जिल्ला तहका संघ संस्था तथा स्थानीय बालक्लवहरुको औचित्य माथि प्रसस्त प्रश्न उठ्नेछन् ।
विद्यार्थीको हक हित र क्षमता श्रीबृद्धिका लागि स्थापित भनिएका विद्यार्थी संघ संगठन र समग्र शिक्षाामा नयाँ स्वरुप दिन तल्लिन भएका भनी प्रचारवाजी गर्ने शिक्षक संग संगठन र युनियनहरु किन यो विषयमा मौन छन् ? किन यस्ता विषयहरुले आवश्यक चर्चा पाउँदैन र यस्ता वातावरणको अन्त्यमा लागि संयुक्त पहलको प्रयास गरिदँैन ।
सामाजिक कार्यकर्ता र बुद्धिजिवीले किन समाधानमुखी उपायको खोजी गर्न सकिरहेका छैनन् ? त्यति मात्र नभई स्थानीय पत्रकारको दृष्टिमा पनि यी विषयहरु उत्कृष्ठ समाचारका शीर्षक हुन भन्ने चेतनाको विस्तार गर्नु पनि आवश्यक छ । दण्ड सँजायले आवेग, संवेग बढाउने मात्रै नभई आपसी वैमनस्यता र असमझदारी जन्माउँछ । शिक्षक विद्यार्थीको आत्मीयता शब्दमा मात्र सीमित रहन पुग्छ ।
कर्मशील र कर्तव्यवान शिक्षक बन्न आफ्ना कक्षाकोठा शिक्षण सुखमय र प्रभावकारी बनाउन आफ्नो शैलीमा परिवर्तन गर्नु जरुरी छ । अभिभावकहरु पनि समय समयमा आफ्ना छोराछोरीसँग छलफल अन्तक्र्रिया र शिक्षकसँग विचार विमर्शमा जुट्दा विद्यार्थीमा थप हौसला र आत्मबल बढ्छ । विषयवस्तुका सान्दर्भिक उदाहरण प्रस्तुत गरी समूह कार्यमा सरिक गराउँदै हौसला प्रोत्साहनबाट विद्यार्थीको विश्वास जितौं र शिक्षण गरौं ।
विद्यार्थीले विश्वास गर्नु शिक्षकले सर्वोत्कृष्ट सम्पति हो । शिक्षकहरु विद्यार्थीप्रति जिम्मेवार रहनुपर्दछ र राम्रो अभ्यासको सुरुवात गराउनु पर्छ । नराम्रा क्रियाकलाप र कमजोर शिक्षणमा आवद्ध शिक्षकहरुको नैतिक बिरोध गर्दै शिक्षणलाई मर्यादित र सम्मानित पेशा बनाउने जिम्मेवारी समग्र शिक्षक र अभिभावकको हो, अझै बढी त शिक्षककै हो ।
(लेखक धादिङ आवसीय उ.मा.वि. धादिङबेंसी, धादिङका अंग्रेजी शिक्षक हुन्)