Published On:Thursday, April 16, 2015
Posted by Tekman Shakya

थापा - पञ्चायतदेखि गणतन्त्रसम्म सक्रिय

काठमाडौँ, ३ वैशाख । नेपाली राजनीतिक इतिहासका विभिन्न आरोह अवरोहका साक्षी सूर्यबहादुर थापाको अवसानले राजनीतिक रिक्तता छाएको अनुभव भएको छ ।

मुलुकको कार्यकारी प्रमुखमा पाँच पटकसम्म जिम्मेवारी सम्हालिसक्नुभएका थापा पञ्चायतदेखि गणतन्त्रकालसम्म सक्रिय हुनुहुन्थ्यो । होचो कद, गोरो अनुहार र कडा आवाजका थापा राजनीतिमा कहिल्यै पन्छाउन नमिल्ने पात्र हुनुहुन्थ्यो । 

पञ्चायतकालदेखि बहुदल र लोकतान्त्रिक गणतन्त्रको कालमा पनि राजनीतिमा उत्तिकै सक्रिय रही महत्वपूर्ण भूमिकामा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको गए राति भारतको मेदान्त अस्पतालमा पेटमा अल्सरको उपचारका क्रममा निधन भएको थियो ।

वर्तमान व्यवस्थापिका–संसद्÷संविधानसभाका ज्येष्ठ सदस्य थापाले सभामुख÷सभाध्यक्षको निर्वाचन भई सुवास नेम्वाङले कार्यभार नसम्हाल्दासम्म ज्येष्ठ सदस्यका हैसियत ‘सभाध्यक्ष तथा सभामुख’को भूमिका पनि निर्वाह गर्नुभएको थियो । 

छ दशकभन्दा बढी समय राजनीतिक जीवनमा सक्रिय थापा धनकुटाको मुगा गाविसमा विसं १९८४ चैत ५ मा बुबा टेकबहादुर र आमा मनकुमारीको कोखबाट जन्मनुभएको थियो । लामो समय पञ्चायती राजनीतिमा सत्तासीन भएर पनि उहाँले सुधारिएको पञ्चायतको वकालत गर्नुहुन्थ्यो । 

छयालीस सालको बहुदलीय प्रजातन्त्रलाई आत्मसात् गरेको तथा लोकतान्त्रिक आन्दोलनपछि गणतन्त्र स्थापनालाई स्विकारेका कारण उहाँलाई सदैव दरबारको पक्षपाती मात्र मान्न सकिँदैन । दरबारभित्र ‘भूमिगत गिरोह’ रहेको भन्ने ‘उदारवादी समूह’का थापा त्यसलाई बहुदलकालमा प्रधानमन्त्री हुँदा पनि गौँडा–गल्छामा भेटिने अभिव्यक्ति दिनुहुन्थ्योे । 
भारतको अल्लाहबाद विश्वविद्यालयबाट स्नातक गर्नुभएका उहाँ राप्रपा(थापा)का संस्थापक र राप्रपाका पूर्वअध्यक्ष रहनुभएको थियो । विसं २००७ मा विद्यार्थी छँदै राणा शासनको विरोध र प्रजातन्त्रका पक्षमा भूमिगत भई राजनीतिक जीवन प्रारम्भ गर्नुभएका उहाँ त्यसबेला नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । 

तत्कालीन समयमा चर्चित राजनीतिक व्यक्तित्व बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, तुलसीलाल अमात्य, मनमोहन अधिकारी र डिल्लीरमण रेग्मीहरूका सहयात्री थापाको निधनसँगै मुलुकले अर्का पुराना र पाका राजनीतिक व्यक्ति गुमाएको छ । 
लोकतान्त्रिक शक्तिबीच बृहत् एकता, सहकार्य गरी मुलुकलाई शान्ति र संविधान दिनुपर्नेमा एक महिनाअघिसम्म सार्वजनिक आह्वान गर्ने नेता थापा विसं २०११ मा सल्लाहकार सभाको सदस्यमा निर्वाचित भई त्यसकोे अध्यक्ष (सभामुख) पनि हुनुभएको थियो । 

गत चैत ५ गते आफ्नो ८८औँ जन्मदिनका अवसरमा निवास मालीगाउँमा कार्यक्रम गरी सहमति र सहकार्यबाट नयाँ संविधान ल्याउन प्रमुख दललाई आह्वान गर्नुभएका थापा पछिल्लो समय राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता प्रक्रियामा पनि उत्सुक हुनुहुन्थ्यो । 

विसं २०१५ मा भएको संसदीय निर्वाचनमा काँग्रेस छाडेर धनकुटामा स्वतन्त्र हैसियतमा प्रत्याशी भई पराजित भए पनि राष्ट्रिय सभा (माथिल्लो सभा) मनोनीत हुनुभयो । त्यसपछि पञ्चायतका पक्षमा खुल्नुभएका उहाँ दरबारबाट कृषि, वन र उद्योग मन्त्रीमा नियुक्त हुनाका साथै राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत हुनुभयो । 

त्यसपछिका निर्वाचनमा लगातार धनकुटाबाट विजयी उहाँ ३८ वर्षको उमेरमा विसं २०२२ मा पहिलो पटक प्रधानमन्त्री हुनुभयो । यस्तै २०३५, ०३८, ०५४ र ०६१ मा पछि विभिन्न पटक प्रधानमन्त्री हुनुभयो । 

तत्कालीन राजा महेन्द्रसँग अत्यन्त निकट मानिने ‘सङ्कटका प्रधानमन्त्री’ थापा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुनुपूर्वको समयमा भने राजा वीरेन्द्रसँग सम्बन्ध बिग्रिएका कारण प्रधानमन्त्रीबाट अपदस्तसमेत हुनुभयो । यसबीचमा उहाँलाई विसं २०२६ मा नख्खु कारागारमा पनि राखिएको थियो भने २०२९ सालमा नजरबन्दमा राखिएको थियो । उहाँले राजनीतिक सुधारको माग गर्दै २१ दिने भोक हडताल पनि गर्नुभएको थियो । 

विसं २०३७ को जनमतसङ्ग्रहमा निर्दलीय व्यवस्थाले जितेपछि उहाँ पुनः प्रधानमन्त्री हुनुभएको थियो । विसं २०४७ मा राप्रपा (थापा)खोली त्यसको संस्थापक अध्यक्ष हुनुभएका थापा पार्टीको विवादका कारण विसं २०६१ मा सो पार्टीबाट अलग भई राष्ट्रिय जनशक्ति पार्टीको संस्थापक अध्यक्ष बन्न पुग्नुभयो, पछि पशुपतिशमशेर राणा अध्यक्ष रहेका बेला पुनः राप्रपामा एकता गरी पुनः अध्यक्ष बन्नुभयो । थापाका छोरा सुनिलबहादुर हाल वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ । रासस

0 comments for "थापा - पञ्चायतदेखि गणतन्त्रसम्म सक्रिय"

Leave a reply

    Popular Posts

    Blog Archive