Published On:Tuesday, April 28, 2015
Posted by my storry
बैंकिङ क्षेत्र भुक्तानीलाई सहज बनाउँदै
काठमाडौँ, १५ वैशाख ।
शनिबार गएको महा–भूकम्पका कारण प्रभावित भएको बैंकिङ क्षेत्रले मंगलबारदेखि आफ्ना सेवालाई सहज बनाउँदै लगेका छन् । निरन्तरको भूकम्पको पराकम्पनका कारण समस्या भए पनि अत्यावश्यक भुक्तानीका ठूलो सञ्जाल भएका ‘क’ वर्गका बैंकले आफ्ना सेवालाई खुला स्थानबाटै सञ्चालनमा ल्याएका हुन् । भौतिक संरचना ध्वस्त भएको स्थानबाट सेवा दिन नसकेपछि बैंकले वैकल्पिक उपाय अपनाएर भए पनि भुक्तानीलाई सहज बनाउँदै लगेका छन् ।
नेपाल राष्ट्र बैंकले अत्यावश्यक भुक्तानी उपलब्ध गराउन निर्देशन दिएपछि बैंकिङ सेवा सञ्चालन गर्ने प्रयास गरिएको बताइएको छ । भुक्तानी लिन आएका ग्राहकलाई नफर्काएको बैंकहरुले दाबी गरेका छन् । बैंकले इन्टरनेट सेवामा वैकल्पिक व्यवस्था इ–बैंकिङ तथा एटिएममार्फत पनि मंगलबारदेथि भुक्तानी दिन सुरु गरेका छन् । विशेष गरी भौतिक संरचना ध्वस्त भएका जिल्ला तथा कार्यालयबाट पूर्णरुपमा सेवा दिन नसके पनि आंशिक रुपमा सेवा उपलब्ध गराएको र भुक्तानीका लागि आउने ग्राहकलाई विकल्पको व्यवस्था गरेको बैंकहरुको प्रतिक्रिया छ ।
अति आवश्यक भुक्तानीलाई सहज बनाएको र कुनै शाखा तथा कार्यालयको भवन ध्वस्त भएकाले त्यस्ता शाखा तथा कार्यालयमा पुग्ने ग्राहकलाई अर्को वैकल्पिक व्यवस्था गरिएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिए । कृषि विकास बैंकले पनि आफ्ना सेवालाई सहज बनाएको छ । उसले आफ्ना ग्राहकले मागेको अवस्थामा वैकल्पिक उपाय प्रयोग गरेर भए पनि भुक्तानी उपलब्ध गराएको जनाएको छ ।
बैंकको केही जिल्लामा सम्पर्क गर्न नसकिएको जनाएको छ । त्यसैगरी बैंकर्स एसोसिएसनले निजी क्षेत्रका बैंकले पनि आफ्ना ग्राहकलाई सहज रुपमा भुक्तानी उपलब्ध गराएको दाबी गरेका छन् । निजी क्षेत्रबाट सञ्चालन भएका सबै बैंकले आफ्ना सेवालाई सहज गरिएको एसोसिएसनका उपाध्यक्ष अनिलकेशरी शाहले बताए । नेपाल बैंकर्स एसोसिएसनलाई आपत्कालीन अवस्थामा सर्वसाधारण केही पनि भुक्तानीबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निर्देशन दिएका छन् ।