Published On:Friday, April 17, 2015
Posted by dadad
पूर्व प्रधानमन्त्री सूबथाको आर्यघाटमा अन्त्येष्टी (फोटो फिचर)
काठमाडौँ, ४ वैशाख । संविधनसभाका जेष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार राजकीय सम्मान सहित पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष समेत रहेका थापाको शुक्रबार साँझ पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको हो ।
८८ वर्षको उमेरमा निधन भएका थापाको पाथिर्थ शरीरमा थापाका सुपुत्र एवम् वाणिज्य तथा आपूतिर्तमन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिएका थिए । यसअघि थापाको पाथिर्थ शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।
थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।
पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाउनुका साथै सलामी अर्पण गरेका थिए । गएको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको थियो । थापाप्रति काँग्रेसीदेखि कम्युनिष्ट र राजाबादी सबैले समवेदना व्यक्त गरेका छन् ।
राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा पूर्व राजा ज्ञानेन्द्र शाहका तर्फबाट तत्कालीन राजप्रासाद सेवाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले श्रद्धान्जली अर्पण गरेका थिए । थापाको पार्थिव शरिरमा श्रद्धान्जली गर्न गएको भन्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बरीष्ठ नेता बाबुराम भट्टराईले कार्यकर्ताबाट ठूलो आलोचना खेप्नुपर्यो ।