Published On:Wednesday, April 22, 2015
Posted by Tekman Shakya

झोलाको दोस्रो प्रदर्शन कस्तो होला ? निर्देशक भट्टराईसँग नेपालीमाटोले गरेको कुराकानी(अडियो सहित)

झोलाको दोस्रो प्रदर्शन कस्तो होला ? निर्देशक भट्टराईसँग नेपालीमाटोले गरेको कुराकानी
सती प्रथामा आधारित नेपाली कथानक चलचित्र झोला यहि बैशाख ११ गतेदेखि देशभर प्रदर्शन हुँदै छ । कृष्ण धाराबासीले लेखेको उपन्यास झोलालाई यादव प्रसाद भट्टराईले निर्देशन गरेका हुन् । धाराबासीसँग २०६३ सालमा फिल्म निर्माण गर्ने सहमति भएर केही वर्षपछि निर्माण भएको चलचित्र अघिल्लो वर्ष देशभर चल्यो । 

लाखौँ दर्शकले मन पराएको र अन्तराष्ट्रिय स्तरमा पनि यसले उत्कृष्ठता हाँसिल गरेसँगै चलचित्र देशभर प्रदर्शन हुन लागेको हो । चलचित्र प्रदर्शनको संघारमा नेपालीमाटो डटकमका टेकमान शाक्यले झोला चलचित्रका निर्देशक यादव भट्टराइसँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश ।...


१) सती प्रथामा आधारित चलचित्र झोला अघिल्लो वर्ष चल्यो । चलचित्रलाई हरेरे धेरै दर्शकले मन पराए, कत्तिले त आँखाबाट आँशु पनि चुहाए, अहिले फेरी दोस्रो पटक प्रदर्शन गदै हुनुहुन्छ । दोस्रो पटक देशव्यापी बनाउनुको उदेश्य के हो ?
–यो नेपालको ऐतिहासिक चलचित्र हो । झोला चलचित हेर्यो भने नेपाली चलचित्र हेर्ने एउटा एटेन्सन बन्छ भन्ने हेतुले राजधानीमा बैशाख ११ गतेदेखि यो फिल्म प्रदर्शन गर्न लागिएको हो । राजधानी बाहिरका केही हलहरुमा पनि प्रदर्शनका लागि कुरा भैरहेको छ । 

हल फाईनल हुँदै छ । अहिले धेरै फिल्महरु चलिरहेको हुनाले हलको समस्या भैरहेको छ । यो फिल्मले २०७१ सालमा अन्तराष्ट्रिय उपलब्धी हाँसिल गर्न सफल भएको छ । सबै सामु चलचित्र पुर्याउन नसकिएको भएर फेरी देशव्यापी रुपमा हामीले प्रदर्शन गर्न लागेका हौँ ।

२) यो फिल्म अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा समेत मनोनयन हुन सफल भयो । अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जाँदा तपाईको अनुभव कस्तो रह्यो ?
–अन्तराष्ट्रिय प्रतिष्पर्धामा गएर फर्कदाको अनुभवमा, हामी धेरै पछाडी छौँ जस्तो मलाई महसुस भयो । सबैभन्दा पहिले त हामी मेकिङमा नै कमजोर छौँ जस्तो लाग्छ । हाम्रो प्रडक्टप्रति त्यति विश्वास नै नगर्ने अवस्था रहेछ ।  नेपालको भन्ने वित्तिकै कुनै इन्टेन्सन नै नदेखाउने समस्या मैले देखेँ । तर, झोला फिल्मको पिक्चरले नेपालमा पनि राम्रो फिल्म बन्न सक्दोरहेछ भन्ने सन्देश चैँ प्रवाह भएको छ । 

अन्तराष्ट्रिय फेष्टिबलमा हाम्रो माग अहिले एकदमै बढिरहेको छ, यसैमा हामी सन्तुष्ट छौँ । हामीले यसलाई अन्तराष्ट्रिय स्तरमा विक्रि गर्ने सोँच पनि बनाईरहेका छौँ । मार्केटिङ गर्ने नेटवर्ककिङको अभावमा हामीले भनेजस्तो अन्तराष्ट्रिय स्तरमा लैजान सकिरहेका छैनौँ ।

३) अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्र भिज्न नसक्नुका पछाडी के रहेछ ? तपाईले त्यसका कारणहरु के पहिल्याउनुभयो ?
–पहिलो कुरा त, हामी नेपालीहरु चलचित्र बनाउँछौँ तर नेपालीपनलाई ध्यान दिँदैनौँ । देशको अवस्था, सामाजिक, साँस्कृति लगायतलाई ध्यान दिएर राम्रा खालका फिल्महरु निरन्तर बनिरहने हो भने, नेपालको फिल्म ईन्टष्ट्रिलाई पनि विश्वले चिन्ने र मन पराउने करिब निश्चित छ । आगामी प्रडक्टहरु हामीले नेपालीपन र नेपाली मनलाई छुने खालका बनाउने जमर्को गर्नुपर्छ र गर्छौँ पनि ।

४) चलचित्र झोला निर्माणपछि दर्शकसम्म ल्याईसकेर पहिलो प्रदर्शन या भनौँ पहिलो यात्रा कस्तो रह्यो ? अनुभव बताईदिनुस् न ।
–हामीले २०७० साल माघमा झोला फिल्म रिलिज गरेका थियौँ । जुन फिल्म सोचिएभन्दा बढि दर्शकले मन पराईदिनुभयो । हाम्रो च्यारिटी नै यति धेरै भयो की, देशव्यापी रुपमा हामीले हल नभएको ठाउँमा पनि देखायौँ । 
रोल्पा, पाँचथरमा हामीले चौैरमा पनि चलचित्रलाई प्रदर्शन गर्यौँ । आधा नेपालमा नेपाली चलचित्रको व्यापार नै नहुने अवस्थामा पनि हामीले चलचित्र झोलालाई देशव्यापी बनायौँ ।


५) पछिल्ला समय नेपाली चलचित्र क्षेत्र संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको समयमा, सति प्रथा जस्तो सोच्न पनि कहालि लाग्ने कथामा आधारित चलचित्र निर्माण गर्ने सोँच चाँही तपाईलाई कहाँबाट आयो ?
–आजभन्दा १३–१४ वर्षअघि नै मैले कृष्ण धाराबासीले लेखेको समकालिन साहित्यमा आधारित यो कथा पढेको हुँ । कथा पढ्दापढ्दै यसलाई चित्रमा उतार्नुपर्छ भन्ने लाग्यो । त्यतिखेर म अडियो भिडियोमा काम गथेँ, टेलिभिजनमा भाका भन्ने लोकगीतको कार्यक्रम पनि चलाउथेँ । 

म्युजिक भिडियोमा काम गरिराख्ने मान्छे भएको मलाई यो विषयमा चलचित्र बनाउनुपर्छ भन्ने सोँच त्यहि दिननै आयो जहिले पढेँ मैले । २०६३ सालमा मैले लेखक धाराबासीसँग यो कथा लिएँ । 

स्व.दिपक आलोकले पटकथा संपादन गर्नुभयो । त्यसपछि मैले सती प्रथाको विषय र कथा बस्तुको विषयमा साँस्कृतीक देहि हरेक विषयमा धेरै अध्ययन गरेँ । अनि मात्र चलचित्र निर्माण गर्न तर्फ अग्रसर भएँ ।

६) सती प्रथामा आधारित झोला चलचित्रलाई सबैले मन पराएको अवस्थामा एउटा मात्रै गुनासो, अन्य फिल्महरुजस्तै बजारमा सहज रुपमा हेर्न पाईएन, यसलाई व्यवसायीक पाटोबाट मात्रै हेरियो भनिन्छ नी ?
हो, सबैले हेर्नुपर्छ भन्ने हेतुले नै हामीले दोस्रो चरणमा फिल्मलाई प्रदर्शन गर्दै छौँ । यस्ता खालका धेरै प्राक्टिसहरु छन् विश्वमा, जहाँ सिडी, भिसिडी, यूटुब र टीभिमा आउन सकेको छैन । सबैभन्दा बढि प्राथमिक पाटो एउटा व्यवसायीक पाटो हो । नेपाली चलचित्र क्षेत्र व्यवसायीक पाटोबाट नहेर्ने हो भने, धेरै धरासायी बन्ने अवस्थामा छ । 
व्यवसायीक पाटोबाट हेरिन्छ र त्यसको सफलता शिखरमा पर्याउन सकिन्छ नी हैन ? दर्शकको माग अनुसार हामीले स्थानीयदेखी अन्तर्राष्ट्रिय स्तरसम्म फिल्म प्रदर्शन गर्यौँ भने हामी फिल्म देखाउन त्यति समर्पीत छौँ ।
हामीलाई दर्शकले जति धेरै हेर्नुभयो, आर्थिक रुपमा पनि हामीलाई त्यो फाईदा हुन्छ, सीडी र भिसिडिमा लगियो भने तपाईमा त्यसको मुल्य पाउनुहुन्न । यो एउटा व्यवसायीक अभ्यास पनि हो । चोर्न पाउनुपर्छ भन्ने नेपाली समाजको धारणा भएकाले मेरो निर्देशनमा बनेको पहिलो फिल्मबाटै मैले त्यो धारणालाई चिर्न खोजेको हुँ ।

७) तपाईको पहिलो फिल्मले अधिक सफलता प्राप्त गरेसँगै, अवका दिनहरुमा कस्ता खालका फिल्म बनाउने योजनामा हुनुहुन्छ ?
–हेनुस् टेकमान जी, हाम्रो एउटा टीम छ । टीममा राज तिमल्सिना, राम गोपाल लगायत हुनुहुन्छ । चलचित्र झोलाले संकेत गरे अनुसार यो टीमले मौलिक विषयबस्तुमा यथार्थ परक चलचित्र बनाउने सोच बनाएको छ । 
एउटा कुरा स्पष्ट पारौँ की, १०० वर्षअघिको अथवा दौरा सुरुवाल र गाउँको कथा बनाउँदैमा हिट हुने भने चाँही होईन । 

हामीले अब आजको नेपालको चलचित्र बनाउने तयारी गर्दै छौँ । आज पनि नेपाल छ, नेपाली छन् र आज पनि नेपालीपन छ, देशभित्र के छन् र समाजका रित के छ भन्ने विषयमा चलचित्र बनाउने तयारीमा हामी अघि बढिरहेका छौँ । त्यसका लागि छलफल भैरहेको छ ।

८) पछिल्लो समय विदेशी नक्कल गर्ने, विभिन्न डाईलगहरु चोरी गर्ने, अश्लि दृश्यहरु देखाउने लगायत प्रवृत्ती हावी भएको नेपाली चलचित्रको बीचबाट जन्मिएको झोला फिल्मले के संकेत गराउँछ ?
–यो मेरो फष्ट फिल्म हो । अहो, सारा कलाकार तथा निर्देशकहरु यो क्षेत्रबाट मैले तड्पिएको देखेको थिएँ । फष्ट फिल्ममा नै मैले के अनुभव गरेँ भने, राम्रो पिक्चर बनाउने हो भने त सफलता खोज्न अन्त जानै पर्दैन भन्ने लाग्यो । 
यसले संकेत गरेको कुरा चाँही के हो भने, अस्तित्वमै प्रश्नचिन्ह खडा भैरहेको नेपाली चलचित्र क्षेत्रलाई एउटा सम्भावनातिर चाँही डोहोर्याएको छ । कथा बस्तु राम्रो भयो भने बनाउने र दर्शकलाई पनि आनन्द दिन्छ भन्ने नै हो ।

0 comments for "झोलाको दोस्रो प्रदर्शन कस्तो होला ? निर्देशक भट्टराईसँग नेपालीमाटोले गरेको कुराकानी(अडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive