Published On:Tuesday, April 21, 2015
Posted by my storry
के अव विधार्थी नेताहरुको ६ वर्षे तपस्या भङ्ग, होला त ?
३ महिना भित्र स्ववियू चुनाव गर्न सर्वोच्चको परमादेशलाई त्रिवि र विद्यार्थी संगठनद्धरा स्वागत !
सर्वोच्च्च अदालतले ३ महिनाभित्र स्वतन्त्र विद्यार्थी निर्वाचन गराउन सरकार र त्रिभुवन विश्वविद्यालयलाई परमादेश जारी गरेसँगै विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले त्यसलाई स्वागत गरेको छ ।
सर्वोच्चको आदेशलाई मान्न सबै तयार हुने भएपछि लामो समयदेखि नेतृत्व विहीन स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउने करिब पक्कापक्की भएको छ ।
देशभरका आंगिक क्याम्पसहरुमा ६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले गएको जेठमा चुनाव गराउने भन्दै मिती नै तय गरेपनि त्यो सफल हुन नसकेपछि चुनावको कुरा लामो समयदेखि सेलाएको थियो ।
सर्वोच्चले नै यसअघि तत्कालिन स्ववियूका पदाधिकारीलाई कुनै काम कारबाही अगाडी नबढाउन आदेश दिएको थियो ।
त्रिविले चाहेमा १ महिनामै चुनाव हुन्छः विद्यार्थी संगठन
सर्वोच्चले दिएको ३ महिनाभित्र निर्वाचन गर्नुपर्ने आदेश समयका हिसावले निक्कै काफी रहेको विद्यार्थी संगठनहरुले बताएका छन् । त्रिविकै आलटालेपनले यसअघि चुनाव हुन नसकेको भन्दै विद्यार्थी संगठनहरुले, सर्वोच्चकै आदेश पर्खनुपर्ने अवस्था आउनु भने दुःखद भएको बताएका छन् । नेकपा एमाले निकट अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले त्रिविले चाह्यो भने १ महिनाभित्रै चुनाव गराउन सकिने बताए । चुनावमा होमिन अनेरास्वीयू तयार रहेको उनले बताए ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले सर्वोच्चको आदेशलाई स्वागत गर्दै, विद्यार्थी संगठनहरुबीच चुनाव गर्न कुनै बिबाद बाँकी नरहेको बताए । यषअघि केही विषयमा विद्यार्थी संगठनबीच केही विषयमा विवाद भएपनि अहिले ती सबै विषयमा समझदारी भैसकेको लामिछानेले बताए ।
एकीकृत नेकपा माओवादी निकट अघिल क्रान्तिकारीका संयोजक रमेश मल्लले पनि अन्य विद्यार्थी संगठन तयार भए आफ्नो संगठनमा पनि कुनै समस्या नरहेको बताए । उनले विगतमा केही विषयमा कुरा मिल्न नसकेको र सिमित विद्यार्थीहरुलाई मात्रै बोलाएर मिती घोषणा गरिएको भएपनि अहिले वातावरण सहज भएको उनले बताए ।
सर्वोच्चको परमादेशलाई त्रिविको पनि स्वागत
यसअघि विद्यार्थी संगठन तयार भए जुनकुनै समयमा निर्वाचन गराउन तयार रहेको बताउने त्रिभुवन विश्वविद्यालयले पनि आफुहरुलाई कुनै समस्या नरहेको बताएको छ । विद्यार्थी संगठनहरु तयार भएमा उनीहरुसँगै बसेर निर्वाचनको मिती सार्वजनिक गरिने त्रिभुवन विश्वविद्यालयका खेलकुद कल्याणकारीका निर्देशक गंगा थापाले बताए । उनले विद्यार्थी संगठन तयार भए ३ महिनाको समय निक्कै धेरै रहेको दाबी गरे ।
तर यसअघि विभिन्न समयमा तोकिएको स्ववियू निर्वाचन तयारी नपुगेको, विधार्थी नेतारुविच विमति रहेको लगाएका कारण देखाउँदै त्रिविले स्थगित गराउँदै आएको थियो ।
के होला अव ?
अव यदी त्रिविले तदारुक्ता देखाउने हो भने ६ वर्ष विजनेश नपाएर खाली जस्तै वसेका विधार्थी नेताहरुको सक्रियता बढ्ने देखिन्छ भने त्रिविको पनि सक्रियता वढ्ने भएको छ । निर्वाचनका लागि आवश्यक पूर्वधार निमार्ण गर्नु एउटा चिन्ताको विषय हो भने आफु अनुकुल विधार्थीसंगठनको जितका लागि खेल्नुपर्ने भूमिका त्रिविले बढाउने छ ।
वाहिर हेर्दा त्यस्तो नदेखिएपनि भित्री रुपमा त्रिवि र आंगिक क्यम्पसहरुमा क्यम्पस प्रमुख र कर्मचारीहरुले वैचारीक रुपमा सहयोग पुग्ने गरी विधार्थी नेताहरुसंग तालमेल गर्ने छन् । यदी यि सवै कुरा मिलेभने सहज रुपमा स्ववियू निर्वाचन हुने छ भने कुरा मिल्न नसके विधार्थी संगठनविच विगतमा जस्तै आरोप प्रत्यारोप हुने छ र त्रिविले फेरी त्यही कारण देखाउँदै चुनाव गर्न नसक्ने वताउने छ । यसपछि विधार्थी नेताहरुलाई माछो माछो भ्यागुतो भनेजस्तो हुने छ ।