Published On:Friday, April 17, 2015
Posted by dadad
परिसुचक १३ अंकले बढ्यो, कारोबार रकम २० प्रतिशतले बढी
४ बैशाख, काठमाडौं । पुँजीबजारमा यो हप्ता नेप्से परिसुचक १२ दशमलव ६४ अंकले बढेर अन्तिम दिन ९ सय ४६ दशमलव ८९ अंकमा आईपुगेर रोकिएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा ३ दशमलव २७ अंकले बढेर २ सय १ दशमलव ८८ अंकमा आईपुगेको छ । यो हप्ता नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीहरुको कारोबार भयो भने, ८० करोड भन्दा बढिको शेयर किनबेच भयो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ८० करोड ३१ लाख दुइ हजार रुपैयाँ बराबरका २४ लाख १० हजार दुइ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गएको हप्ताको तुलनामा १९ दशमलव ६१ प्रतिशत बढि हो । गएको हप्ता १ सय ६९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ६७ करोड १५ लाख ५१ हजार रुपैयाँ बराबरका १९ लाख नौ हजार छ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
कारोबार रकमको आधारमा यो हप्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा आएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा एनआइविएल सम्वृद्घि फण्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्याको आधारमा ग्लोवल आईएमई बैंक अग्रस्थानमा रहेको छ ।