Published On:Thursday, April 30, 2015
Posted by Tekman Shakya

राहत र उद्धारलाई प्रभावकारी बनाउन सबै दल समिलित संयन्त्र बनाउन माओवादीको माग

काठमाडौं, वैशाख १७ । देश विनाशकारी भुकम्पका कारण तनावमा रहेको समयमा पनि प्रतिपक्षी र सत्तारुढ दलबीचको जुहारी रोकिएको छैन ।

विदेश पुगेर स्वदेश फर्कने वित्तिकै दलीय झगडा नगर्न भन्दै बखेडाको झल्को दिएका प्रधानमन्त्री शुशिल कोइरालालाई प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले अप्ठ्यारोमा पार्ने रणनीति बनाउने दाउ छोपेको छ । भूकम्प पीडितहरुले राहत नपाएको र उद्धार पनि प्रभावकारी नभएको भनिरहेका बेलामा माओवादीले छुट्टै संयन्त्र बनाएर विनाशकारी भुकम्पले निम्त्याएको क्षतिपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

उसले संयन्त्र निर्माणको नाममा आफ्नो भुमिका खोजिरहेको छ । बिहीबार बसेको एकीकृत माओवादी संसदीय दलको बैठकले संविधानसभाभित्र र बाहिर रहेका दलहरु सम्मिलित सर्वदलीय संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याएको हो । सरकार र सरकारी संयन्त्रले राजनीतिक पूर्वाग्रहका आधारमा उद्धार तथा राहत वितरणको काम गरिरहेको भन्दै माओवादीले पुनःसंयन्त्र बनाउन सरकारसँग आग्रह गरेको छ ।

उद्धार तथा राहत कार्यमा अध्यक्ष प्रचण्डको नेतृत्व
बिनाशकारी भुकम्पबाट पीडितहरुको राहत तथा उद्धार कार्यमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा देशव्यापी रुपमा खटिने भएको छ । 

टोलीमा पूर्व जनमुक्ति सेना, योङ कम्युनिस्ट लिग, जनवर्गीय सङ्गठन तथा भातृ सङ्गठनलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । 

एकीकृत माओवादीले यस अघि नै केन्द्रीय दैवी प्रकोप तथा राहत समिति गठन गरिसकेको छ भने भूकम्प प्रभावित १२ जिल्लामा केन्द्रीय नेताहरु समेत परिचालन गरिसकेको छ । 

व्यवस्थापिका संसद बैठक बोलाउन माग
संविधानसभाको बैठक बहीस्कार गरिरहेको एकीकृत माओवादीले भुकम्प गएपश्चातको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापिका–संसदको बैठक तत्काल बोलाउन भनिरहेको छ । 

मुलुकको विषम परिस्थितिमा जनताको समस्या समाधान गर्न विपत्तीलाई प्रभावकारी रुपमा सहन गर्न व्यवस्थापिका–संसद्को बैठक बोलाउनुुपर्ने माओवादीको जोड छ । 

सरकारले संसदको बैठक बोलाउन आनाकानी गरिरहेको र जनताको समस्याप्रति गैरजिम्मेवार बनेको माओवादीको आरोप छ । 

छिमेकी मित्रराष्ट्र भारतको संसदमा समेत नेपालको भूकम्पका बारेमा छलफल भएको र प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिएको भएपनि नेपालमा भने सरकारले त्यसतर्फ ध्यान नदिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ३० लाख
एकीकृत माओवादीको आज बसेको संसदीय दलको बैठकले  राहत तथा उद्धार कार्यमा सहजता ल्याउन पीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 
सरकारले अगाडि सारेको राहत, उद्धार कार्य प्रभावकारी नभएको भन्दै माओवादीले आफ्नो सहयोगले केही हदसम्म पीडीतहरुलाई राहत मिल्ने बताएको छ । माओवादीले जिल्लामा राजनीतिक आग्रह तथा पूर्वाग्रहका आधारमा राहत वितरण गरिएको भन्दै त्यसको आपत्ती जनाएको छ ।

यस्तै माओवादीले भूकम्पमा परी निधन भएका प्रति परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराउन, क्षति भएका आवास तथा घरको प्रकृतिका आधारमा प्रतिपरिवार रु पाँच लाखदेखि रु १० लाख उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । 

पुनःनिर्माण अगाडि बढाउन दक्ष प्राविधिक सहित केन्द्रीय पुनःनिर्माण आयोग गठन गरी दीर्घकालीन समस्या समाधानको प्रक्रिया अगाडि बढाउन माओवादीको आग्रह छ । 

यस्तै घाइतेको उपचारका साथै अङ्गभङ्ग भएका व्यक्तिलाई प्रतिपरिवार एक लाख उपलब्ध गराउन र बजारमा अत्यावश्यकीय पदार्थको अभाव देखाएर जनतालाई पीडामाथि पीडा दिनेहरुलाई कडा कारवाही गर्न माओवादीको माग छ ।

0 comments for "राहत र उद्धारलाई प्रभावकारी बनाउन सबै दल समिलित संयन्त्र बनाउन माओवादीको माग"

Leave a reply

    Popular Posts

    Blog Archive