Published On:Tuesday, April 21, 2015
Posted by my storry

विकासमुखी बजेट आउँछ : अर्थमन्त्री

काठमाडौं, ८ वैशाख । 
अर्थमन्त्री डा.रामशरण महतले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यसहितको विकासमुखी बजेट आउने बताएका छन् । 
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले छर्ने प्रवृत्तिको बजेट नल्याउने स्पष्ट पार्दै सामाजिक न्यायमुखीसहितको आर्थिक फड्को मार्ने उद्देश्यको बजेट आउने बताए ।  
देश अत्याधिक आर्थिक वृद्धिको अवस्थामा रहेको भन्दै परिणामका लागि धैर्य गर्नुपर्ने अर्थमन्त्रीको भनाई थियो ।  
‘६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित बजेट बनाइदैछ,’ महतले भने,‘ बजेट तिव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यको हुन्छ ।’ 
आफू विगतमा अर्थमन्त्री हुँदा इतिहासमा सबैभन्दा बढी ५.८ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको स्मरण गराउँदै त्यसै अनुरूपको कार्यक्रम ल्याउने तयारीमा रहेको बताए ।
बजेटले लगानी र उत्पादन वृद्धिलाई महत्व दिने उल्लेख गर्दै अर्थमन्त्रीले गएको वर्ष विदेशी लगानी ओइरिएको र स्वदेशी लगानीमा पनि उच्च वृद्धि भएबाट आफू निकै उत्साहीत भएको धारणा राखे । उनले भने,‘विदेशी लगानी दुई गुणाले बढेको छ ।’ 
भारतसँग नयाँ व्यापार सम्झौता हुन लागेको बताउँदै अधिकतम् नेपाली सामान विना भन्सार भारतको बजारमा जाने वातावरण बनाउन सरकार सक्रिय रहेको अर्थमन्त्री महतले बताए । सन् १९९६ मा व्यापार सम्झौता भएर २००६ सम्म सहज रूपमा निर्यात भएका नेपाली उत्पादन रोकिएको भन्दै अबको सम्झौताले नेपाली उत्पादनलाई विदेशी बजारमा सहज निर्यातको अवस्था निर्माण गर्ने विश्वास ब्यक्त गरे । आयात निर्यातको सन्तुलन बिग्रिरहेको अवस्थाबाट पार लगाउन नयाँ सम्झौताले भूमिका खेल्ने महतको भनाई थियो । 

0 comments for "विकासमुखी बजेट आउँछ : अर्थमन्त्री"

Leave a reply

    Popular Posts

    Blog Archive