Published On:Monday, April 27, 2015
Posted by Tekman Shakya
चोरी भएको आशङ्का, निगरानी गर्न सुझाव
काठमाडौं, १४ वैशाख । धार्मिक गतिविधि तथा समाजसेवामा संलग्न व्यक्तिहरुले ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक धरोहरहरुको सुरक्षा पटक्कै नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।
पुरातात्विक सम्पदाको स्थलगत निरिक्षणका लागि गएका पुरातत्व विभागको टोलीसँग प्रकाश रायमाझीले सम्पदा स्थलमा सर्वसाधारण पसी सुरक्षाकर्मी हुँ भन्दै अमूल्य सम्पत्ति चोरी हुन थालेको जानकारी थराए ।
सर्वसाधारणलाई जथाभाबी पस्न दिन नहुने, प्रहरी, विभाग र स्थानीय समुदायको रोहबरमा सामग्री निकाली लाहाछाप गरेर तिनको लगत राख्ने र संरक्षण र सुरक्षाका लागि छुट्टै आयोग गठन गर्नुपर्ने उनले सुझाव दिएका छन् । पुरातात्विक सम्पदा भत्केका अवस्थामा हुन सक्ने चोरी लगायत कामलाई रोक्न पुरातत्व विभागले त्यस्ता कार्यमा संलग्नलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधन सहित) बाट कडाइका साथ कारबाही गर्ने जनाएको छ ।
ऐनको दफा १२ मा प्राचीन स्मारक वा पुरातात्विक वस्तुलाई कसैले नष्ट गरेमा, विरुप पारेमा, चोरी गरेमा वा अन्य कुनै किसिमबाट हानिनोक्सानी गरेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अमूल्य वस्तुको भएको यो अकल्पनीय क्षतिलाई पूरा गर्नका लागि विभागले चाँडै विस्तृत कार्ययोजना निर्माण गने तयारी गरेको छ । नेपालका यिनै पुरातात्विक वस्तु हेर्न बर्से्नि हजारौं पर्यटक आउने भएका कारण यसको पुनःनिर्माण अपरिहार्य भएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।
तथ्यांक अनुसार हनुमान ढोका दरबार क्षेत्रका पुरातात्विक सम्पदा हेर्न आउने पर्यटकका कारण बर्षेनी १६ देखि १८ करोड रुपैयाँ, पाटन दरबार क्षेत्रमा छ करोड र भक्तपुर दरबार क्षेत्र अवलोकन भ्रमणका कारण १६ करोड रुपैयाँ भन्दा बढि सम्म आम्दानी हुने गरेको पाइन्छ ।
महानिर्देशक दाहालको नेतृत्वमा गएको टोलीले आज क्षतिग्रस्त बनेका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ क्षेत्रलगायत पुरातात्विक सम्पदामा भएको क्षतिको स्थलगत अध्ययन गरेको हो ।