Published On:Monday, April 20, 2015
Posted by my storry

जाजरकोटमा महामारीबाट जोगिन देउतालाई भाकल

८ बैशाख, काठमाडौं । 
जाजरकोटमा फैलिएको महामारीबाट जोगिन स्थानीय बासिन्दाले देउतालाई भाकल गर्न थालेका छन्। महामारीबाट एक दर्जन गाविस प्रभावित भएका छन् भने सोमबारसम्म २५ जनाको ज्यान गएको छ।

तीन सातासम्म पनि महामारी नियन्त्रणमा नआएपछि त्रसित स्थानीय बासिन्दाले त्यसबाट बच्न र अब कसैको पनि ज्यान नजाओस् भनेर कुलदेउतालाई बोका भाकल गर्न थालेका हुन्। संक्रमण नफैलिएका गाविसका बासिन्दाले पनि त्यसबाट बच्न भाकल गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

अन्धविश्वासका कारण धामीको भर परेर बिरामी उपचारका लागि स्वास्थ्यकर्मीसँग नआउँदा रोग नियन्त्रणमा थप समस्या भइरहेको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्।

खगेनकोटका बासिन्दाले गाउँमा महामारी नफैलियोस् भन्दै देउता भाकेका छन्। उनीहरूले स्थानीय हलचौरमा भेला भएर आइतबार सामूहिक रूपमा देउतालाई भाकल गरे।

महामारीले छिमेकी गाविसहरू प्रभावित भएपछि त्यसको संक्रमण गाउँमा नफैलियोस् भनेर उनीहरूले मष्टा देउतालाई भाकल गरेका हुन्। स्थानीय बासिन्दा नारायण खत्रीका अनुसार गाउँमा महामारी नफैलियोस् भनेर देउतालाई बोका भाकल गरिएको छ।

शिक्षक, सामाजिक कार्यकर्ता र राजनीतिक दलका स्थानीय कार्यकर्तासमेत महामारी गाउँमा नआओस् भन्दै देउता भाकल गर्न पुगेका थिए। धामी हर्कबहादुर खत्रीले गाउँमा महामारी नफैलियोस् भनेर देउतालाई बोका भाकल गरेको बताए।

अन्धविश्वासका कारण बिरामी धामीको भर परेर स्वास्थ्य संस्थामा उपचार गराउन नजाँदा जाजरकोटमा सामान्य रोगले पनि महामारीको रूप लिने गरेको छ।

0 comments for "जाजरकोटमा महामारीबाट जोगिन देउतालाई भाकल "

Leave a reply

    Popular Posts

    Blog Archive