Published On:Monday, April 27, 2015
Posted by Tekman Shakya
विपत्तीका समयमा गैर–कानुनी काम गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री
काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा प्रभावकारी सेवा उपलम्ब नगराउने जो कोही सम्बन्धित निकायलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
छिमेकी मित्रराष्ट्रले अत्यन्तै चासोका साथ नेपालको विपत्तिमा सहयोग गरेको र थप सहयोग उपलब्ध हुने चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले विपत्तिको समयमा गैरकानुनी काम गर्नेलाई कारबाही गरिने बताए ।
सरकारले पीडितको राहत तथा उद्धारका विषयमा अगाडि सारेका काम कारबाहीका बारेमा जानकारी दिँदै प्रधानमन्त्री कोइरालले भने,–‘सरकारले जनतालाई उद्धार, राहत प्रदान गर्न हरसम्भव उपाय अवलम्बन गरेको छ । कसैले कमजोरी गरे आवश्यक कारबाही हुन्छ ।’
सही र तथ्यपूर्ण सूचना दिन र आवश्यक सहयोग उपलब्ध गराउन सबैको उत्तिकै सहयोगको आवश्यकता रहेको भन्दै उनले राष्ट्रिय विपत्तिको समयमा मुलुकको ध्यान भूकम्प पीडितको उद्धारमा लाग्न आग्रह गरे ।
सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइरालाले सरकारका सबै संयन्त्रहरु परिचालित भएको, गैरसरकारी निकाय, स्वयम्सेवी तथा अन्तर्रा्ष्ट्रिय समुदायले पनि मानवीयताका आधारमा पीडामा परेका जनतालाई सहयोग गरेको भन्दै सहयोग उपलब्ध गराउन कुनै समस्या आए आवश्यक बल प्रयोग गर्न समेत निर्देशन दिइएको बताए ।
सरकारले उद्धार, राहत तथा उपचारका लागि उपलब्ध सबै हेलिकोप्टर प्रयोग गरिएको, पिउने पानी, खाद्यान्न उपलब्ध गराउन सबै उपाय अवलम्बन गरिएको र विपत्तिको समयमा विवेक पु¥याएर एकापसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभयो ।