Published On:Friday, April 24, 2015
Posted by my storry
बाङडुङमा के गर्दै छ नेपाली टोली, पहिले को गएका थिए र अहिले को को छन्
रासस, विशेष प्रतिनिधि विष्णु नेपाल,
इन्डोनेसिया बाङडुङ० ११ वैशाख ।

सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङ सहरमा सम्पन्न पहिलो एसियाली अफ्रिकी देशहरूको सम्मेलनको ६० औँ वार्षिकोत्सव मनाउन एसिया तथा अफ्रिका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको त्यस स्थानमा पुग्ने क्र म पनि जारी छ ।जाकर्तामा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्प को दशौ वार्षिकोत्सव विभिन्न तीन विषयमा घोषणापत्र जारी गर्दै समाप्त भएको थियो । समारोहमा भाग लिएका विभिन्न देशका नेताहरू ऐतिहासिक एसियाली–अफ्रिकी सम्मेलनको ६० औ वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । बाङडुङवासी आफ्ना घर आगनमा जम्मा भएका विश्वका राजनेताहरूलाई सम्मान गर्न जुटिरहेका छन् । सडकका दायाँ बायाँ सहभागी देशका राष्ट्रिय झण्डा बोकी स्थानीयवासीले विशिष्ट अतिथिहरूलाई सत्कार गरिरहेका छन् ।
विशेष कार्यक्रम यहाँको समयअनुसार बिहान ९ बजेदेखि सुरु हुँदैछ ।
समारोहमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट मन्त्रालयका सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्रा डा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार प्रमुख अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, प्रधानमन्त्री कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, परराष्ट मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायत हुनुहुन्छ ।
सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म यहाँ बर्मा म्यानमार, सिलोन श्रीलङ्का, भारत, इन्डोनेसिया र पाकिस्तान गरी पाँचदेशले संयुक्त रुपमा पहिलो सम्मेलन गरेका थिए । यसै सम्मेलनले पारित गरेको १० बुँदे घोषणापत्रलाई बाङडुङ सम्मेलनका नामले विश्व परिचित रहेको छ ।
पहिलो सम्मेलनमा चीनका तत्कालीन प्रधानमन्त्री चाउएनलाई, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, इण्डोनेसियाका राष्ट्रपति सुकार्नो, इजिप्टका राष्ट्रपति अब्दुलगमाल नासिर, गोल्डकोस्ट घानाका प्रधानमन्त्री क्वामे नुक्रुमा, भियतनामका राष्ट्रपति हो चि मिन लगायतका विश्वका अन्य राजनेताहरूको सहभागिता रहेको थियो ।
नेपालका तर्फबाट तत्कालीन राजा महेन्द्रसहित परराष्ट्र अड्डका प्रमुख शोभाजङ्गा थापा, प्रा यदुनाथ खनाल, नरेशमान सिंह र पद्मबहादुर खत्रीले भाग लिनुभएको थियो ।