Published On:Tuesday, November 11, 2014
Posted by dadad

नेपालको विशाल जित, कुवेत २६२ रनले पराजित !!


काठमाडौं, कात्तिक २४ –कुवेतमा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो सफलता हासिल गरेको छ । पहिलो खेलमा साउदी अरेबियालाई १ सय ९५ रनले हराएको नेपालले दोस्रो खेलमा सोमबार आयोजक टिम कुवेतमाथि २ सय ६२ रनको फराकिलो जित दर्ता गरेको हो ।


३ सय २६ रनको कठीन चुनौती पछ्याउनेक्रममा कुवेतले २७ ओभर ४ बलमात्र क्रिजमा टिकेर ६३ रन बनाउन सक्यो । तीन खेलाडीले मात्र दोहोरो अंक जोडेको इनिङलाई ध्वस्त पार्नेक्रममा नेपालका दिपेश श्रेष्ठ, सुनील धमला र यर्शाद अहमदले समान २–२ तथा आरिफ शेख र सुशील कणेलले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा तीन सय २५ रन जोड्यो ।
खराव सुरुआत गर्नेक्रममा ९ रन जोड्दा तीन विकेट गुमाइसकेको नेपालका लागि आरिफ शेखले ८७ रन बनाए । त्यसैगरी, सौरभ खनालले ३५ बलमा अविजित रहँदै ६४ रन जोडे ।
सन्दीप सुनारले ४९ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २० बलमा ४ छक्का र २ चौकाको मद्दतले ४८ रन बनाए । नेपालले ३९ रन अतिरिक्तका रुपमा पाएको थियो । आरिफ शेख म्यान अफ द म्याच घोषित भए ।
यता, पहिलो खेलमा मलेसियाविरुद्ध १० विकेटको जित हासिल गरेको अफगानिस्तानले दोस्रो खेलमा युएईलाई तीन सय ६ रनले हराएको छ ।
नेपालले तेस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

0 comments for "नेपालको विशाल जित, कुवेत २६२ रनले पराजित !!"

Leave a reply

    Popular Posts

    Blog Archive