Published On:Saturday, November 15, 2014
Posted by dadad

काठमाडौँमा मेट्रो रेल संचालन हुने

काठमाडौँ, २९ कात्तिक । भारतको राजधानी नयाँ दिल्ली भ्रमणको क्रममा जाँदा होस् वा युरोपेली मुलुकको यात्रामा जाँदा मेट्रो रेल पक्कै चढ्नुभएको छ होला ।

त्यस्तै मेट्रो चढ्ने सपना आगामी केही वर्षभित्रै पूरा हुने भएको छ । सरल सहज एवम् सस्तो यात्राका लागि विदेशी मुलुकमा लोकप्रिय त्यसप्रकारको रेल सञ्जाल विस्तारका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको छ ।

 आधुनिक सहरको विशेषताका रुपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ । विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ । 

 काठमाडौँ उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको बोर्डले जनाएको छ । राजधानीवासीलाई सरल र सहज रुपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ । 

 काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ। यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ ।  हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ । 

चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ । 

 सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ ।  काठमाडौँ मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ । 

  व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले काठमाडौँ उपत्यकाभित्रको प्रदूषण न्यूनीकरणका लागि मेट्रो अत्यावश्यक रहेको बताउनुभएको थियो ।  उहाँले काठमाडौँमा बढ्दो जनसङ्ख्याको चापलाई थेग्न र वातावरण प्रदूषण रोक्ने उत्तम विकल्पका रुपमा भूमिगत मेट्रो उत्तम हुने र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो । 

 अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएको छ ।  हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ । 

 सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस

0 comments for "काठमाडौँमा मेट्रो रेल संचालन हुने"

Leave a reply

    Popular Posts

    Blog Archive