Published On:Wednesday, October 22, 2014
Posted by dadad

रिसोर्टमा बसेको तीनदलको बैठक निष्कर्ष बिहीन

काठमाडौं, ५ कार्तिक । संविधानका विवादित बिषयमा सहमति खोज्न बसेको तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । दुईदिनदेखि लगातार गोकर्ण रिसोटमा छलफलमा जुटेको तीन दलको बैठकले आज पनि कुनै सहमति गर्न सकेन । हिजो मंगलबार पनि दिनभर सहमतिको प्रयास गरेका दलका नेताहरु आज  बिहानैदेखि  छलफलमा जुट्ने  थिए ।

दलहरुबीच सहमति हुन नसकेपछि बैठक तिहार पछि पुन बस्ने गरी स्थगित गरिएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको पहलमा नेताहरु आवासीय बैठकमा शिर्ष नेताहरु जुटेका हुन् ।

छलफलमा कांग्रेसको तर्फबाट नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल , महासचिव ईश्वर पोखरेल, एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी थिए । हिजो दिनभर छलफल गर्दा समेत कुनै सहमति हुन नसकेको नेताहरुले बताएका थिए । एमाओवादी नेता श्रेष्ठले दलहरुबीच मंगलबार कुनै नयाँ छलफल हुन नसकेको बताए । 'हामी पहिला जहाँ थियौं त्यहीं छौं, छलफल अघि बढेको छैन्', उनले भने ।

दलहरुबीच विवाद देखिएको संघीयता, शासकीय स्वरुय, न्याय प्रणाली र निर्वाचन प्रणालीको बिषयमा एकै पटक सहमति गर्ने गरी छलफल अघि बढाइएको बताइएको छ  । संबिधानसभाले संवाद समितिलाई कात्तिक १५ गतेभित्र संबिधानको विवादित बिषयमा सहमति जुटाइसक्न तेस्रो पटक समय दिएको छ ।

१५ गतेसम्ममा सहमति नभए प्रश्नावलीसहितको प्रतिवेदन १६ गते बुझाउन सभाले समितिलाई निर्देशन दिएको छ ।
सहमति नभए मतदान प्रक्रियाबाट संबिधान लेखन प्रक्रिया अघि बढ्नेछ । 
मतदानबाट संबिधान लेख्न कांग्रेस र एमाले सहमत भए पनि एमाओवादीलगायत साना दलले भने सहमतिबाटै संबिधान जारी गर्नुपर्ने अडान राखेका छन् ।

0 comments for "रिसोर्टमा बसेको तीनदलको बैठक निष्कर्ष बिहीन "

Leave a reply

    Popular Posts

    Blog Archive