Published On:Thursday, October 30, 2014
Posted by dadad

आधुनिकतासँगै हराउँदैछन् रैथाने प्रविधिहरू

म्याग्दी (बेनी), १३ कात्तिक । भनिन्छ ‘मानिसका लागि स्वपहिचान र मौलिकता सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ आफ्नो पहिचान बचाउन आफ्ना मौलिक सीप, बुद्धि–वर्गत र प्रविधिले पनि सहयोग गर्दछ । आफ्नो सीपबाट सिर्जित रैथाने प्रविधिको माध्यमद्धारा नै मानिसले आफ्नो गाउँ ठाउँ र स्वयम् आफ्नो पहिचान बनाउन सक्छ ।

तर, आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय म्याग्दी जिल्लाका ग्रामीण क्षेत्रमा रहेका रैथाने प्रविधि अतिक्रमित भएको छ । यसले परम्परागत घरेलु मेसिनहरू हराउँदै मात्र छैनन्, ग्रामीण पहिचान मेटिंदै गएको छ । यसप्रति स्थानीय समुदाय सचेत भएको पाइँदैन भने सम्बन्धित निकायहरू भने मौन छन् ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौँ भइसकेको छ । अघिल्लो पुस्तासम्ममा ऊखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोलको अस्तित्व पूर्णरूपमा समाप्त भएको छ । यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेको छ ।
धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने स्याखु(घुम)को ठाउँ अहिले प्लाष्टिक, छाताले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानी घट्टहरू लोप हँुदै गइरहेका छन् ।

करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेकोमा वातावरणविद् चन्द्रमणि सापकोटा चिन्ता व्यक्त गर्नुहुन्छ । आधुनिक मेसिनहरू छिटो र सजिलो भएपनि यसमा उत्तिकै जोखिम हुनुको साथै सबैको पहुँचमा नहुनु, ठूलो धनराशि विदेशिनु, गुणस्तरीय नहुनेजस्ता समस्याहरू रहेको उहाँको भनाइ छ ।
दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ’ बेनीबजारका अबिरकुमार श्रेष्ठ भन्नुहुन्छ्– ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महङ्गो एवम् खर्चिलो छ ।’ लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रबद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने उहाँको सुझाव छ ।

प्रायः सामूहिकरूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भाव वृद्धि गर्ने उनीहरूको तर्क छ ।
परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएकामा यस क्षेत्रका सांस्कृतिकप्रेमीहरू चिन्तित बनेका छन् ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको म्याग्दीका लोकबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको लोकगायिका धनकुमारी थापा बताउनुुहुन्छ ।
लोक संस्कृतिमा विश्वमै विशिष्ट पहिचान बनाउन सफल यस जिल्लामा पछिल्लो समय विदेशी पर्यटकहरूको देखासिकी, विदेश गएर आउनेहरूको व्यवहार र आधुनिकताको नाममा बढ्दो नक्कल गर्ने प्रवृत्तिले मौलिक संस्कृतिलाई लोप गराउँदै लगेको छ ।
स्थानीय प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको छ । गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका छन् । स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेसिने क्रमले पनि रैथाने प्रविधिहरूको अस्तित्व हराउन थालेको हो ।

     घरेलु मेसिनलगायतका परम्परागत साधनहरू लोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेका संस्कृतिविद् प्रकाश श्रेष्ठको कथन छ । ‘म्याग्दीका घरेलु मेसिनहरू हराइसके’ श्रेष्ठले भन्नुभयो ‘‘हामी को हौँ ? हाम्रो सभ्यता के हो ? भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।’’
स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थामा समेत अध्ययन गर्न सकिन्छ । ‘‘घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो’’ स्थानीय संस्कृतिका विषयका जानकार पुराना लोकगायक बीरवहादुर कार्कीले भन्नुभयो–‘‘घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ ।’’

‘‘घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन’’ कार्कीले भत्रुभयो– ‘‘बढ्दै गइरहेको पाश्चात्य सांस्कृतिक हस्तक्षेपले हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।’’
यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने देखिन्छ । स्थानीय मौलिक सीप, प्रविधिहरूको संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङग्रहालय स्थापना गर्न सकिएमा भावी पुस्ताका लागि अध्ययन, अनुसन्धान गर्न र इतिहासलाई जीवित राख्न सहयोग पुग्नेछ । रासस

0 comments for "आधुनिकतासँगै हराउँदैछन् रैथाने प्रविधिहरू"

Leave a reply

    Popular Posts

    Blog Archive