Published On:Friday, October 31, 2014
Posted by dadad

चार महिनापछि डोल्पामा खाद्यान्न खुल्यो

१५ कार्तिक, डोल्पा । नेपाल खाद्य संस्थान डोल्पाले गत असारदेखि नखुलाएको खाद्यान्न शनिबारदेखि खुलाएको छ ।

यस आर्थिक वर्षको चामल अहिलेसम्म पनि आइनपुगेको र गत आवको जुफाल डिपो र खाद्य संस्थान दुनैमा जम्मा भएका एक हजार ४३० क्विन्टल चामल सबैलाई नपुग्ने भएपछि दसैँ तिहारजस्ता चाड पर्वमा पनि संस्थानले खाद्यान्न वितरण गर्ननसकेको संस्थानका निमित्त खाद्य प्रमुख रणबहादुर एैरीले बताए ।

गत चार महिनादेखि खाद्यान्न उपलब्ध नगराएकाले आएको जति चामल आजदेखि चार दिने सूचना खुलाएर प्रतिकिलो रु ४८ का दरले प्रतिपरिवार तीन किलो चामल उपलब्ध गराएर खाद्यान्न वितरण सुरु गरिएको खाद्य संस्थान डोल्पाले जनाएको छ ।

लामो समयपछि संस्थानले खाद्यान्न खुलाएपछि डोल्पाका जुफाल, दुनैलगायतका कार्यालयमा गाँउगाँउबाट आएका सर्वसाधारणको घुइँचो लागेको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा पनि संस्थानले खाद्यान्न उपलब्ध नगराएकाले डोल्पामा खाद्यान्नको हाहाकारसमेत भएको थियो ।

क्षेत्रफलको हिसाबमा नेपालकै ठूलो जिल्ला डोल्पा भएतापनि खेतीयोग्य जमिन भने झन्डै एक प्रतिशत मात्र रहेको छ जहाँ वर्षभरी गरेको खेतीले तीन महिनामात्र खान पुग्दछ । जुम्ला, नेपालगन्ज, तुलसिपुरबाट खाद्यान्न ढुवानीको जिम्मा पाएको केदारनाथ ढुवानी सेवाको चरम लापरबाहीले समयमै खाद्यान्न सम्बन्धित ठाँउसम्म पुग्न सकेको छैन । रासस

0 comments for "चार महिनापछि डोल्पामा खाद्यान्न खुल्यो"

Leave a reply

    Popular Posts

    Blog Archive