Published On:Friday, October 31, 2014
Posted by dadad

राप्रपा नेपालको रोष्टम घेराउले संसद बैठक स्थगित

१४ काठमाडौं । प्रतिपक्षी दल राप्रपा नेपालका सांसदहरुले रोष्टम घेरेपछि व्यवस्थापिका–संसदको आजको दोस्रो बैठक स्थगित भएको छ । 

संसद्को बैठकमा राप्रपा नेपालले उठाएका विषयवस्तु सम्बोधन गर्ने क्रममा गृहमन्त्री बामदेव गौतमले भगवानप्रति अनास्था फैलाउने ढङ्गबाट भनाइ आएको आरोप लगाउँदै राप्रपा नेपालका सांसद्हरुले रोष्टम घेरेपछि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

आधा घण्टाका लागि स्थगित भएको बैठक साँझ ५ बजे आरम्भ भएकोमा बैठक सुरु भएको घोषणा गर्नासाथ राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि बैठको कारबाही अघि बढ्न सकेन ।
सभामुख सुवास नेम्वाङले बैठकको प्रारम्भमा गृहमन्त्री गौतमलाई आफ्ना भनाइहरु प्रस्तुत गर्न समय दिनुभएकामा राप्रपाका सांसद्हरुले गृहमन्त्रीको तर्फबाट बिहानको भनाइप्रति क्षमायाचना नगरेसम्म बैठक नचल्ने अडानका साथ होहल्ला गरेपछि बैठक स्थगित भएको हो । 

राप्रपाका सांसदहरुले नारा लगाउँदै रोष्टम घेरेपछि नेपाली काँग्रेस र नेकपा (एमाले)का सांसदहरुले राप्रपाको अवरोधले गर्दा आफ्ना भनाइहरु संसदमा राख्न नपाएकामा विरोध गरेपछि संसदमा दुवै पक्षबीच भनाभन भएको थियो ।

संसदको आजको बैठकका लागि सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउनेका साथै कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले देवानी संहिता, देवानी कार्यविधि संहिता, अपराधसंहिता, फौज्दारी कार्यविधि संहिता र फौज्दारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन विधेयक, २०७१ संसद समक्ष प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । 

यी पाँचवटै विधेयक मुलुकी ऐनलाई विस्थापित गरी एकीकृत कानुन निर्माणका लागि सरकारले संसदमा प्रस्तुत गर्न लागेको हो । व्यवस्थपिका–संसदको अर्को बैठक यही कात्तिक १६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुखले घोषणा गर्नुभयो ।

0 comments for "राप्रपा नेपालको रोष्टम घेराउले संसद बैठक स्थगित"

Leave a reply

    Popular Posts

    Blog Archive