Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya

तेलको मूल्य घट्दै,गाडी भाडा बढ्दै

काठमाडौं,कात्तिक १२ – नेपाल आयल निगमले पछिल्लो एक महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ । १६ कात्तिकमा फेरि घटाउने तयारी छ । 

तर पनि सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । १५ कात्तिकबाट लागू हुने गरी सरकारले सार्वजनिक सवारीसाधनमा साबिकको भाडामा कम्तीमा एक रुपैयाँ बढाउने निर्णय गरिसकेको छ । इन्धनको मूल्य घटिरहेका वेला भाडादर घटाउनुको सट्टा सरकार व्यवसायीको दबाबमा परेर भाडा वृद्धिको निर्णय कार्यान्वयन गर्ने दिन पर्खंदै छ । 

भाडादर पुनर्मूल्यांकन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएकाले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल बताए । ‘सार्वजनिक सवारीसाधनको भाडादर पुनर्मूल्यांकन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएको आधारमा आगामी १५ कात्तिकबाट लागू हुने गरी भाडा वृद्धि गर्ने निर्णय भएको छ,’ सोमबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा दाहालले भने ।

 उनका अनुसार यात्रुबाहक सवारीसाधन (बस, मिनीबस, माइक्रो )मा ५ दशमलब ६३ प्रतिशतका दरले भाडा वृद्धि हुनेछ । नयाँ भाडादरअनुसार चार किलोमिटर वा सोभन्दा कम दूरी यात्रा गर्ने यात्रुले १६ रुपैयाँ तिर्नुपर्नेछ । हाल यो दूरीका लागि १५ रुपैयाँ भाडा तिरे पुग्छ । त्यस्तै, पाँच किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ, आठ किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ तिर्नुपर्नेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "तेलको मूल्य घट्दै,गाडी भाडा बढ्दै"

Leave a reply

    Popular Posts

    Blog Archive