Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya

पर्व छठका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले सूर्य देवता र छठ माताको आराधना गरी मनाइने पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
उनले विभिन्न जातजातिका विभिन्न पर्व नै समग्र मुलुकको सांस्कृतिक पहिचान बनेका र यस्ता पर्वले विभिन्न जात, धर्म तथा सम्रप्रदायबीच आपसी मेलमिलाप र भाइचारा अभिवृद्धि गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकता मजबुत पार्न सहयोग पुगेको बताएका छन् ।
‘देशमा तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता, अक्षुणता कायम रहोस्, देशले शान्ति तथा आर्थिक समृद्धि हासिल गरोस्, छठ पर्व सांस्कृतिक रुपमा नेपालको परिचय बन्न सकोस् र यसबाट आपसी समझदारी, भाइचारा, सामाजिक सदभाव अभिवृद्धि गर्न सफलता मिलोस्’ –सन्देशमा भनिएको छ ।
लोकतान्त्रिक संविधानबाट नै लोकतान्त्रिक परिपाटी बलियो हुन्छ–उपराष्ट्रपति
उपराष्ट्र्पति परमानन्द झाले यसै अवसरमा देशविदेशमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिँदै उनले आवश्यकता र नेपालीको चाहनाको प्राथमिकतामा संविधान नै बहुप्रतीक्षित विषय भएकाले जनचाहनाबमोजिमको लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुने उल्लेख गरेका छन् ।
सन्देशमा भनिएको छ– ‘दलहरुबीच सहमति र सहकार्यको विकल्प छैन, जनचाहनाअनुरुपको लोकतान्त्रिक संविधान जारी गर्दै स्थिरता र समृद्धिका मार्गमा अघि बढ्न यो पर्वले प्रेरणा मिलोस् ।’ रासस
प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले शुभकामना सन्देश दिँदै छुट्टै मूल्यमान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रुपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने औँल्याउँदै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने औंल्याएका छन् । मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराएर स्वदेशमा नै विश्वका विकसित देशका नागरिकसरहका सुखसुविधा पाउने अवसर सिर्जना गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन् ।
‘छठ पर्वले समस्त नेपालीको मनमष्तिष्कमा देश र जनताको समुन्नतिका लागि सत्कार्य गर्ने सत्विचार सिर्जना गर्ने प्रेरणा दिन सकोस्, सबै नेपालीमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराउन सकोस्, जनताको सुख, शान्ति र समृद्धिका लागि काम गर्न सबै राजनीतिक दलका नेतालाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस्’ – सन्देशमा भनिएको छ । रासस

0 comments for "पर्व छठका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश"

Leave a reply

    Popular Posts

    Blog Archive