Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya

विश्व लिग क्रिकेटमा नेपालले पछार्यो अमेरिकालाई

काठमाडौँ, ११ कात्तिक । मलेसियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीअन्तर्गत आज भएको चौथो खेलमा नेपालले अमेरिकालाई १० रनले पराजित गरेको छ । मलेसियास्थित किनरारा ओभल मैदानमा भएको सो प्रतियोगितामा वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले अमेरिकालाई डकवर्थ लुइस नियमका आधारमा १० रनले पराजित गरेको हो । डकवर्थ लुइसका आधारमा नेपालले २२ ओभरमा ६५ रन बनाउनुपर्ने थियो ।  

यसअघि टस जितेर पहिले व्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिसँगै २२३ रन बटुलेको थियो । २२४ रनको विजयलक्ष्य पच्छाएर जवाफी व्याटिङमा उत्रेको नेपाल २२ ओभरमा एक विकेट गुमाउँदै ७३ रन जोड्यो ।  प्रतियोगितामा नेपालले व्याटिङ गर्ने क्रममा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो त्यसपछि पनि पुन वर्षा हुन थालेपछि खेल डकवर्थ लुइसका नियमका आधारमा टुङ्गिएको हो । हिजो पनि वर्षा भएपछि उक्त खेल स्थगन भएको थियो ।
   
नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ४९ रनको योगदान दिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे । बलिङतर्फ भने नेपालका शक्ति गौचनले ३ विकेट हात पारे भने बसन्त रेग्मी र सागर पुनले समान दुई–दुई विकेट लिए ।  यस जितसँगै नेपालले डिभिजन टु मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

चार खेल खेलेको नेपालले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । प्रतियोगितामा ६ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको नेपालले बर्मुडा र सिङ्गापुरलाई पराजित गरेको थियो भने युगान्डासँग हार भोगेको थियो ।
छ अङ्क नै बटुलेको युगान्डा भने रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपालले भोलि आयोजक मलेसियाको सामना गर्नेछ ।

0 comments for "विश्व लिग क्रिकेटमा नेपालले पछार्यो अमेरिकालाई"

Leave a reply

    Popular Posts

    Blog Archive