Published On:Wednesday, October 29, 2014
Posted by dadad

सार्क सम्मेलनको नाराः ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’

१२ कार्तिक, काठमाडौं । आगामी मंसिरको दोस्रो हप्ता हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौँ शिखर सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने तय भएको छ ।

मङ्सिर १० र ११ गते काठमाडौँमा हुने सम्मेलनका लागि सार्क सदस्य मुलुकहरुबीच भएका आपसी कुराकानी र पूर्व परराष्ट्रमन्त्री एवम् राजदूत डा भेषबहादुर थापाको संयोजकत्वमा गठित सल्लाहकार समितिले दिएको सुझावका आधारमा सरकारले नारा तय गरेको हो ।

सार्क मुलुकमा दिगो आर्थिक र सामाजिक विकास र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि दिगो शान्ति अपरिहार्य भएकाले सो नारा तय गरिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।
शिखर सम्मेलनका क्रममा सार्क सदस्य मुलुकबीचको सहकार्यलाई फलदायी बनाउँदै, आपसी  समझदारी र  सहसम्बन्धलाई सवलीकरण गर्दै सामूहिक पहिचान, क्षमता, मूल्य, मान्यता, सभ्यता र जनताका चाहनामा आधारित भएर काठमाडौँ घोषणापत्र जारी गरिने उनले जानकारी दिए ।
काठमाडौँ घोषणापत्रको मस्यौदालाई सरकारले कूटनीतिक संयन्त्रमार्फत सदस्य मुलुकलाई पठाइसकेको छ । प्रस्तावित मस्यौदामा शान्ति, विकास, समृद्धि र लोकतन्त्रमा असर पार्ने सीमा क्षेत्रको समस्या, आतङ्ककारी गतिविधि, अतिवाद, धार्मिक अतिवादजस्ता चुनौतीसँग जुझ्ने कार्यमा जोड दिइएको छ ।
घोषणापत्रमा युवालाई रोजगार र सिर्जनशील बनाउने,  सन् २०३० सम्म यस क्षेत्रबाट निरक्षरता उन्मूलन गर्ने विषय प्रस्ताव गरिएको छ ।

यस क्षेत्रको गुणस्तरीय शिक्षालाई सवलीकरण गर्न भौतिक पूर्वाधार विकास, पाठ्यक्रम, शिक्षण विधिमा सामूहिक रुपमा परिवर्तन गर्ने र त्यस प्रकारको सोच भएको सिर्जनशील मानव संसाधन विकास गर्ने गरी सम्बन्धित मुलुकले नीति ल्याउने घोषणपत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनमा हुने खुल्ला र अनौपचारिक छलफलले पारस्परिक हित, मित्रता एवम् समझदारी अभिवृद्धि गर्ने र सङ्गठनलाई अगाडि बढाउन सहज हुने पाण्डेले विश्वास गरे । शिखर सम्मेलनको तयारीका सबै काम यही कात्तिक २५ गतेभित्र पूरा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

0 comments for "सार्क सम्मेलनको नाराः ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’"

Leave a reply

    Popular Posts

    Blog Archive