Published On:Tuesday, October 28, 2014
Posted by dadad

जति छलफल गरेपनि विवाद नटुङ्गिने भयो !

काठमाडौं–नयाँ संविधानमा देखिएको विवादित विषयमा छलफल गर्न मंगलबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक पनि निष्कर्षविहिन भएको छ ।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति न्युन रहेकाले संविधानसभाका केही आमन्त्रित सदस्यलाई बोलाएर छलफललाई निरन्तरता मात्र्र दिइएको बताईएको छ ।
आजको बैठकमा नेपाली काँग्रेसका सभासद्द्वय प्रदीप गिरी र गगन थापालाई आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग समिति सभापति बाबुराम भट्टराईले प्रमुख विवादित विषयमा कुराकानी भएको र प्रमुख दलका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी सहमति निर्माण गरिने जानकारी दिए । सहमति निर्माणका लागि शीर्ष नेतृत्व सँगसँगै राजनीतिक दलका विभिन्न तहमा काम गरिरहेका नेतृत्वतहसँग पनि छलफल गरिने भन्दै उनले १४ गतेसम्म अनौपचारिक रुपमा नै संवाद गरिने बताए ।
समितिका सदस्य लक्ष्मणलाल कर्णले भने सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउने र सहमति हुन नसकेका विषयलाई अनुसूचीमा राखेर भएपनि पहिलो मस्यौदा तयार पार्ने गरी छलफललाई केन्द्रित गरिएको जानकारी दिए ।
दलहरुबीच शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति हुन सक्ने आधार तयार भएको तर राज्य पुनःसंरचनाको सन्दर्भमा सहमति हुन नसके अनुसूचीमा राखेरै भएपनि मस्यौदा तयार पार्ने गरी छलफल भएको उनले बताए ।
आमन्त्रित सदस्य प्रदीप गिरीले संविधान बहुमत तथा अल्पमतको हुन नहुने भएकाले सहमतिमै संविधान जारी हुने विश्वास व्यक्त गरे ।
सभासद् गगन थापाले मिलेका विषयको एकीकृत मस्यौदा बनाएर नमिलेका विषयलाई अनुसूचीमा राखेर भए पनि मस्यौदा जारी गर्नुपर्ने प्रस्ताव राखे ।
शीर्ष नेताहरुले सहमति जुटाउन पनि नसक्ने र प्रक्रियामा जान पनि नसक्ने स्थितिलाई पूर्णबिराम दिन पनि उक्त प्रस्ताव जायज भएको उनको कथन थियो ।
यस्तै समिति सभापती भट्टराईले विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि छुट्टाछुट्टै छलफललाई निरन्तरता दिनुभयो ।

0 comments for "जति छलफल गरेपनि विवाद नटुङ्गिने भयो !"

Leave a reply

    Popular Posts

    Blog Archive