Published On:Thursday, October 30, 2014
Posted by dadad
नेपालकै एकमात्र ढोला मण्डलीमाई
![]() |
प्रमोद भट्ट । |
सम्भबत नेपालकै एक मात्र मन्दिर जहाँ पाठीको वलि चढ्छ तर महिलाहरुलाई प्रवेश निषेध छ । ढोला ७, धादिङ मा अवस्थित मण्डलीमाईको उत्पतिको किंवदन्ती विचित्र किसिमको छ । ढोला मण्डलीमाईका पूजारी मगरको भनाइअनुसार ढोलाकी मण्डलीमाईको उत्पति भएको समय लगभग १७५० सालतिर हो । त्यतिबेला एकजना देविदास नाम गरेको मगर हलो काट्न भनी वनमा गए ।
त्यहाँ सालको रुख काट्न लाग्दा बन्चरोको धार नै झ¥यो । सालको रुखमा डोब पनि लागेन । यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए । भोलिपल्ट धार झरेको बन्चरो लिएर आरनमा गई अर्चापेर ल्याए र फेरी त्यही हिजो काट्न लागेको सालको रुख ढाल्न भनी गएर, पहिलोचोटि त्यही सालको रुख काट्नेबित्तकै रुखबाट रातो रगत बग्न थालेछ । त्यो देखेर ती मगर आश्चर्य चकित हुँदै रुख काट्नै छोडेर घर गए ।
बेलुका खाना खाएर सुतेपछि राति सपनामा ‘म मण्डली माई हँु । म यही सालको रुखमा बसेकी छु ।
यो सालको रुखलाई काट्न प्रयत्न नगर्नुृृृृ गाउँ, सहर, राष्ट्रका सबैलाई सङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु । यस बन्चरोको प्रहारले गर्दा म साहै दुखित छु । मेरो पीडा शान्ति र सन्तोषको लागि एकादशी ,औाशी र अरु अहिँसात्मक चाड पर्व बाहेक प्रत्येक मङ्गलबार मेरो पूजा १२ वर्ष भित्रको मगर जातिको कुमार केटाले गर्नुपर्छ । महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु, बाजा गाजा नाच गान आदि खलबल नगरी एकान्त जँगलमा मेरै सालको फेदमा फलफूल ,धुप ,दीप, नैवेद्यले पुजा गरी कुमारी पठेङ्ग्री पाठी वली दिएर पुजा गर्नु । पूजापछि प्रसाद कसैले पनि सिरमा नलगाई त्यसै जँगल परिसर भित्रै बसेर सबै भक्तहरूले भोजन गर्नु, यो गरेका खण्डमा म प्रसन्न हुन्छु र भक्तहरूले चाहे अनुसार वरदान दिन्छु ।’
भन्दै भगवती मण्डली देवी अन्तध्र्यान भएको सपना देखेपछि सपनामा देखेको सबै कुरा आफ्ना जहानहरूलाई सुनायो । सबै मगर जातिहरू अति प्रभावित हुदैँ गाउँघर सबैतिर प्रचारप्रसार गर्दै त्यसै दिनदेखि मगर जातिको किशोरले बाख्राको पाठी वली गरी पुजा गर्ने परम्पराको थालनी भएको भन्ने किंवदन्ती प्रचलित छ । सोही विधि अनुसार देश तथा विदेश बाट ल्यइएको पुजा सरदम पनि उसैगरी मँगलबार उसै पुजारीले पुजा गर्र्ने प्रसादहरू त्यो जँगलबाहिर नलैजाने सबै मिलेर त्यसै मण्डली परिसरमा बसेर खाने चलन छ । अहिले प्रत्येक मंगलबार करिब ३५० वटा जति पाठीको वली दिइने गरिन्छ ।
प्रत्येक वर्ष मङ्गलबार नपरे पनि बैशाख शुक्ल पूर्णिमाको दिनमा पाठी वली गरी नित्य पुजा र प्रत्येक श्रावण महिनामा १५ गते अघिको मँगलबार पाठी वली नगरी नयाँ पोलेको मकै,पायस फलफुल तरकारीहरू नैवेध चडाई पुजा गर्ने गरी वर्षको दुई पटक गाउँको नित्य पुजा चल्दै आएको छ । कुनै बखत गाउमा आकस्मिक दुर्घटना परेमा क्षमा पुजा भनी पुजा गर्ने चलन छ । नयाँ मकै मण्डली देबिलाई नचडाई ढोला गाउका मानिसहरू खादैनन् यो परम्परा यथावत् छदैछ ।
पहिले दलितहरुले ढोला मण्डली माईको पुजा गर्न र दर्शन गर्न पाएका थिएनन् । अहिले खुलारूपमा मण्डलीमाईको दर्शन र पुजा गर्न पाएका छन् । २०६२ जेठ ३१ गते दलित सेवा संघका तत्कालिन अध्यक्ष गोपाल विश्वकर्माको नेतृत्वमा ५२६ जना दलितका साथ ढोला मण्डलीमाईमा पाठीहरू चढाएर आएदेखि दलितहµले पनि खुलारूपमा पूजापाठ गर्दै आएका छन् । मण्डली माई मन्दिरको जिर्णेद्धार गर्ने क्रममा २०७१ जेठ १० र ११ गते मन्दिरमा पिल्लरको लागि खनिएको खाडल वरीपरी सर्पले परिक्रमा गरी काममा अवरोध पुर्याए पछि पुराने मन्दिरबाट झिकिएको घण्टा पुरानै मन्दिरमा लगेर राखी मंगलबार क्षयमा पुजा गरे पछि सर्प नदेखिएको र मन्दिर निर्माण कार्य गरिएको स्थानीय बासिन्दा बताउछन् ।
पछिल्लो समय मण्डलीमाईको प्रसादसँग मदिरा पिउने नराम्रो प्रथाको थालनी व्यापक रूपमा बढेको भन्दै यहाँका वुद्धि जिवीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । यसरी एउटा नाजायज सँस्कृती मौलाउँदै जाने हो भने निकट भविष्यमा मण्डली देवी प्रतिको अहिले विध्मान आस्था घटेर जाने निश्चित छ । यो बारेमा सँवन्धित निकायले वेलैमा सोच्नु आवश्यक छ । होइन भने निकट भविष्यमा मण्डलीको अस्थित्व पनि सँकटमा पर्नेछ र त्यो घाटा तमाम हामी ढोलावासीले व्यहोर्नु पर्ने हुन्छ । त्यसैले बेलैमा यसबारे सोच्नकी ?
श्रोत हाम्रो ढोला पुस्तक, नोट - श्रोत नखुलाई यो सामाग्री प्रकाशन, प्रसारण नगर्नू होला ।