Published On:Wednesday, October 29, 2014
Posted by dadad
गोरखामा काँचो सुन्तला बिक्री
गोरखाबजार, १२ कात्तिक । गोरखाका किसानले बेलै नभई सुन्तला बिक्री गरेका छन् । गत वर्षभन्दा प्रतिकेजी सुन्तलाको भाउ महँगो पाएपछि किसानले काँचो सुन्तला बिक्रीका लागि बजार झारेका हुन् । प्रतिकेजी मूल्य ७० रुपैयाँ पाएपछि किसानले अलिअलि पहेँलो भएको सुन्तला पनि बिक्री गरेका छन् ।त्यस्तै प्रतिकेजी रु ५५ मा किसानले घरैबाट ठेकेदारलाई काँचो सुन्तला बिक्री गर्न थालेका छन् । गोरखाको मनकामना, ताङ्लीचोक, ताक्लुङ, मकैसिङ, नारेश्वर, फिनाम, हर्मीका किसानले बेलै नभई सुन्तला बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
थोरै बोट सुन्तला लगाएका किसानले आर्थिक समस्या हल गर्नका लागि काँचो सुन्तला बजारमा बिक्री गरेको कार्यालयका योजना अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“साना तथा मझौला किसानले बेलै नभई काँचो सुन्तला बिक्री गरे”, पौडेलले भन्नुभयो, “दसैँ, तिहारको खर्च जोहो गर्नका लागि किसानले सुन्तला बेचेका छन् ।” स्याउको मूल्य बढेपछि व्यापारीले काँचो सुन्तला खरिद गरी बिक्री गर्न थालेको अधिकृत पौडेलको भनाई छ ।
“बजारमा फलफूलको माग बढ्दो छ”, उहाँले भन्नुभयो, “चाडबाडले गर्दा अमिलो सुन्तला पनि बिक्री भएको छ ।” किसानले पाकेको सुन्तलाको भाउमा काँचो सुन्तला बिक्री गरेको उहाँले जानकारी दिनुभयो । “घरखर्च चलाउन पनि काँचो सुन्तला बिक्री गर्नुपर्ने किसानको बाध्यता छ”, पौडेल भन्नुहुन्छ, “व्यापारीले पनि सुन्तला टिपेर बेच्न किसानलाई कर गरेपछि समस्या भएको छ ।”
प्रायःगरी कात्तिक अन्तिम सातादेखि सुन्तलाको मौसम सुरु हुन्छ । गोरखामा उत्पादन भएको सुन्तला गोरखा बजार, चितवनको मुग्लिन बजार, नारायणघाट र पोखरामा बिक्री हुँदै आएको छ ।
गत वर्षभन्दा सुन्तलाको उत्पादन घट्ने कृषि विकास कार्यालयको अनुमान छ । उत्पादन घटे पनि मूल्य बढेकाले किसानलाई घाटा नपर्ने पनि पौडेल बताउनुहुन्छ । “गत वर्षको भन्दा सुन्तलाको दाना साना छन्”, उहाँले भन्नुभयो, “भाउ बढेकाले किसानलाई खासै असर पर्दैन ।”
गोरखाको विभिन्न गाविसमा गरी ७४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । जिल्लाका दुई सयभन्दा बढी किसानले आफ्नो बारीमा व्यावसायिक सुन्तलाखेती गरेका छन् । गत वर्ष सुन्तला बिक्री गरेर गोरखामा रु १७ करोड भित्रिएको थियो । रासस